कोशी :-
कोशी प्रदेशमा चौपायालाई लाग्ने खोरेत रोगविरुद्ध खोप अभियान सुरु भएको छ । स्वस्थ दुध र मासु उत्पादन र बस्तुको निर्यात प्रवर्द्धनमा टेवा पुर्याउन बिहीबारदेखि खोरेतविरुद्धको खोप अभियान सुरु गरिएको हो ।
चौधवटै जिल्लाका भेटेरेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र र सम्बन्धित पालिकाको सहकार्यमा प्रदेशभर एकैसाथ खोप अभियान सुरु गरिएको हो ।
खोरेतका कारण चौपायाले दिने उत्पादन घट्नुका साथै बजार प्रवर्द्धनमा समेत नकारात्मक प्रभाव परेको भन्दै सरकारले गाई भैंसी र बंगुरलाई खोरेतविरुद्ध खोप दिने अभियान चलाएको भेटेरेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र पाँचथरका प्रमुख रामनारायण साहले बताए ।
खोपका लागि आवश्यक पर्ने भ्याक्सिन सम्बन्धित जिल्लाका भेटेरेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रमार्फत गाउँ र नगरपालिकालाई उपलब्ध गराइएको साहको भनाइ छ ।
खोप अभियानको अनुगमन पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय कोशी प्रदेश र सम्बन्धित जिल्लाका भेटेरेनरी अस्पतालले गर्नेछन् ।
पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय कोशी प्रदेशको तथ्यांक अनुसार प्रदेशभर १४ लाख गाई, ३ लाख ७४ हजार भैंसी र ७ लाख १५ हजार बंगुर छन् ।