छुर्पी नेपालबाट युरोपका देशमा निर्यात हुने क्रम बढ्दो

समाचार

फिक्कल :-

कुकुरको आहारका लागि प्रयोग हुने छुर्पी नेपालबाट युरोपका देशमा निर्यात हुने क्रम बढेको छ । १ वर्ष अघि निर्यात ठप्प भएको छुर्पी अहिले पुन बढेपछि इलामका छुर्पी उत्पादक व्यवसायी उत्साहित भएका छन् ।

चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ८० करोड ६१ लाख ३९ हजार रुपैयाँको छुर्पी नेपालबाट निर्यात भएको छ । भन्सार विभागका अनुसार ९ लाख ६३ हजार ९ सय २७ किलो छुर्पी निर्यात भएको हो । गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आर्थिक वर्षमा छुर्पी निर्यात बढेको विभागको तथ्यांक छ ।

गत आर्थिक वर्षको साउनदेखि पुससम्म १ अर्ब ४१ करोड २९ लाख रुपैयाँको छुर्पी निर्यात भएको थियो । नेपालमा उत्पादन भएको छुपी साउनदेखि पुससम्म अमेरिका, क्यानडा, बेलायत, जापान लगायत २२ मुलुकमा निर्यात हुने गरेको सूर्योदय नगरपालिका ९ का व्यवसायी किरण भण्डारीले बताए ।

नेपालबाट सबैभन्दा बढी छुर्पी अमेरिका र सबैभन्दा कम स्लोभाकियामा पुगेको छ । अमेरिकामा मात्रै १ अर्ब ५९ करोड ४६ लाख ४३ हजार रुपैयाँको छुर्पी निर्यात भएको छ । यस्तै क्यानडामा १३ करोड ३ लाख, बेलायतमा ३ करोड ३ लाख, जापानमा १ करोड ८५ लाख, कोरियामा ६८ लाख, मलेसियमा ४१ लाख र युक्रेनमा ३५ लाख रुपैयाँको छुर्पी निर्यात भएको छ ।

२०८०÷८१ मा ३ अर्ब १८ करोड ४३ लाख रुपैयाँको १६ लाख ४६ हजार ८ सय ८७ किलो निर्यात भएको थियो । पशुहरुमा लागेको लम्कि स्कीन रोग नियन्त्रणमा आएपछि छुर्पीको माग पनि बढेको व्यवसायी चन्द्र गुरुङ्गले बताए । सबैभन्दा कम १ लाख २३ हजार रुपैयाँको छुर्पी स्लोभाकियामा निर्यात भएको छ । विदेशमा कुकुरको प्रमुख खान्की नै छुर्पी हो । विभागको पछिल्लो ५ वर्षको तथ्यांकअनुसार निर्यात बजार उत्साहजनक छ । निर्यात हुने क्रम बढेपछि इलाममा छुर्पी उत्पादन गर्ने उद्योगहरु खुल्ने क्रम बढेको हो ।

Share this: