रोङ गाउँपालिका–६ मा जेष्ठ नागरिकलाई टोलमै पुगेर सहुलियत सेवा

समाचार

गोविन्द पौडेल : रोङ, इलाम

इलामको रोङ गाउँपालिका–६ ले जेष्ठ नागरिकलगायत सामाजिक सुरक्षा भत्ता लिने सेवाग्राहीलाई लक्षित गर्दै टोलस्तरमै नवीकरण सेवा सुरु गरेको छ। वर्षायाममा वडा कार्यालयसम्म पुग्न कठिनाई हुने र अतिरिक्त खर्चिनुपर्ने अवस्था देखिएकाले वडा समितिको निर्णयअनुसार घुम्ती शिविरमार्फत सेवाप्रवाह गरिएको हो।

वडाध्यक्ष सत्यम राई चौरासेको अनुसार वडा कार्यालयका एक–दुई जना कर्मचारी परिचालन गरेर टोलमै पुग्दा सबै सेवाग्राहीको काम सहज रूपमा सम्पन्न हुने भएकाले यो व्यवस्था गरिएको हो।

कार्यक्रमअनुसार भदौ २ गते पाटापुर र खारखोला, ३ गते सलकपुर, ४ र ५ गते कुवापानी तथा ८ र ९ गते रम्भ्याङमा सेवा प्रदान भइरहेको छ।

टोलमै सेवा पाएका स्थानीय नागरिकले वडाको निर्णयप्रति खुशी व्यक्त गरेका छन्।

Share this: