इलामको सूर्योदय नगरपालिकाको व्यापारिक केन्द्र फिक्कल बजारमा लाग्ने बिहिबारे हटिया यस क्षेत्रको ऐतिहासिक र प्रमुख किनमेल स्थल हो। चाड पर्व हुन या अन्य कुनै उत्सव वा कार्जेका बेला यहाँको हटिया बजारमा व्यापारी र उपभोक्ताको भीड लाग्ने गर्छ। तर यस वर्षको तिहार अन्तिमको हाटमा भने आयातित फूलका माला मात्रै देखिएका छन ।
सामान्यतया यस क्षेत्रमा फूल व्यवसायीको संख्या अन्य ठाउँभन्दा धेरै भए पनि बजारमा यसपटक स्थानीय किसानले उत्पादन गरेका फूलहरू बिक्रीका लागि ल्याएको देखिएन। हाटभरि दीपावली विशेष सामग्रीहरू माला, बत्ती, सरसफाइका सामान र मिठाइहरूले स्थान ओगटेका थिए।
सिमा नजिकको बजार भएका कारण पनि यहाँ अधिकांश व्यापारीहरु बाहिरैबाट आएर हटिया लगाउने गर्दछन ।
गत असोज १८ गतेको अविरल वर्षातले गाउँगाउँका बाटोहरू क्षतिग्रस्त बनाएकाले धेरै किसानले फूल बजारसम्म ल्याउन नसकेको हो कि भन्ने सोझै अनुमान लगाउन सकिन्छ । ग्रामीण भेगका धेरै ग्रीनहाउस र बगैंचाहरूमा पनि पानीले क्षति पुर्याएको छ।
सूर्योदय नगरपालिका क्षेत्र नै इलाम जिल्लाको प्रमुख फूल उत्पादन हुने क्षेत्र मानिँदै आएको छ। विशेष गरी मखमली, सयपत्री र गोदावरी लगायत अन्यजातका फूल यहाँ प्रशस्त मात्रामा उत्पादन हुने गरे पनि यस वर्षको तिहारमा बजारमा ती फूलहरूको कमी देखिएको छ।