सल्यान — सरकारी जागिर खाने सपना थियो, शारदा नगरपालिका–२ डाँडागाउँकी सुशीला चन्दको । ९ कक्षामा पढ्दै गर्दा १५ वर्षकै उमेरमा विवाह गर्नुपरे पनि सरकारी जागिरे बन्ने सपना साँच्न भने छाडिनन् । सिफारिसबिना स्थानीयस्तरमै सानोतिनो जागिर पाउन पनि गाह्रो हुने बुझेपछि एसएलसी दिएलगत्तै राजनीतिमा लागिन् । तर, जागिरको टुंगो भने थिएन ।
त्यसै दौरान उनी मानसिक रोगको सिकार भइन् । झन्डै ५ वर्ष उपचार गरेर निको भएपछि ३५ वर्षीया सुशीला यतिबेला मानसिक रोग निवारण अभियन्ताका रूपमा सक्रिय छिन् । आफूले भोगेजस्तो दुःख अरूलाई नहोस् भन्ने लागेरै उनी यो अभियानमा जुटेको बताउँछिन् ।
मानसिक बिरामीहरूको संस्था मानसिक स्वास्थ्य स्वावलम्बन समूह जिल्ला सञ्जालकी अध्यक्षसमेत रहेकी उनी अहिले स्थानीयस्तरमा कसैलाई मानसिक समस्या देखिएमा घरमै गएर परामर्श दिनेदेखि उपचारका लागि आवश्यक पैरवी गर्दै आएकी छन् । सञ्जालको अध्यक्ष भएको ६ महिनाभित्रै नगरभित्रका दर्जनभन्दा बढी मानसिक विरामीलाई परामर्श तथा औषधोपचारका लागि सम्बन्धित निकायमा पुर्याउन सफल भएकी छन् । ‘बिहे हुँदा १५ वर्षकी मात्र थिएँ, त्यसपछि ठूलो संघर्ष गरेर २०६८ मा प्लसटु पास गरें । सरकारी जागिरभन्दा अन्त लाग्ने सोचेकै थिइनँ,’ सुशीलाले भनिन्, ‘नेताको सोर्सबाट सरकारी जागिर पाइने आश्वासनमा राजनीतिमा पनि लागें, तर केही भएन । आर्थिक तथा मानसिक दबाब पर्दै गएपछि मानसिक रोगी भएको पत्तै भएन ।’
२०७१ मा मानसिक रूपमा बिरामी भएपछि आफू र आफ्नो परिवार नै समाजबाट अपहेलित हुँदाको तितो अनुभव गरेकी सुशीलाले थपिन्, ‘त्यही रनाहामा २०७३ सालमा घर छाडेर काठमाडौं गएँ, तर त्यसपछि कहाँ गए ? के भयो ? केही थाहा छैन ।’ बेवारिसे अवस्थामा हिँड्दै जाँदा चितवन पुगेको र प्रहरीले डाक्टरकहाँ पुर्याइदिएको उनी बताउँछिन् । १५ दिनको उपचारपछि बल्ल केही सम्झने भएपछि आफन्तसँग सम्पर्क हुन सक्यो । ‘५ वर्ष नियमित औषधि खाएपछि निको भएँ,’ भनिन्, ‘मानसिक रोगको सिकार भएपछि विभिन्न समस्या भोग्नुपर्यो । समाजबाट अपहेलित हुनुपर्यो । घर छाडेर विस्थापित हुनुपर्यो । आउँदा दिनमा मानसिक समस्या भएका कसैले पनि मैलेजस्तो दुःख पाउन नपरोस् भनेर निःस्वार्थ रूपमा सचेतना फैलाउने काममा लागेकी हुँ ।’
सुशीलाको अभियानलाई अहिले सीएमसी नेपाल नामक गैरसरकारी संस्थाले आर्थिक र प्राविधिक सहयोग गर्दै आएको छ । मानसिक बिरामीलाई सहयोग गर्न पाउँदा खुसी लाग्ने गरेको उनले बताइन् । ‘अशिक्षाका कारण ग्रामीण महिलालाई स्वास्थ्य सचेतनाबारे थाहा छैन । आर्थिक, पारिवारिक तथा बाह्य तनावका कारण कति मानसिक बिरामी भएका हुन्छन् । उनीहरूलाई न आफू समस्यामा परेको थाहा हुन्छ, न समयमै उपचार पाएका छन्,’ यही कारण आत्महत्या गर्नेको संख्या बढ्दै गएको उल्लेख गर्दै थप्छिन्, ‘आत्महत्या गर्नेमा बालबालिकादेखि वृद्धवृद्धासम्मका छन् । मानसिक रूपमा पीडितलाई उचित परामर्श दिएर आत्महत्या गर्नबाट रोक्नु नै मेरो पहिलो प्रयास हो ।’
सचेतना फैलाउने कामसँगै हिंसापीडित महिलालाई गाँसबासका लागि सेफ हाउसमा बसेर पनि काम गर्दै आएको सुशीला बताउँछिन् । अहिले उनको अभियानलाई परिवारले पनि साथ दिइरहेको छ । नगरभित्र मात्र सीमित नभई जिल्लाभरका मानसिक समस्याग्रस्तको पहिचान गरेर उपचारका लागि सम्बन्धित निकायमा पुर्याउने उनको चाहना छ । तर त्यसका लागि स्रोतसाधनको अभावले अगाडि बढ्न कठिनाइ भइरहेको उनी बताउँछिन् । स्वास्थ्य सेवा कार्यालय, स्थानीय तहलगायत निकायले मानसिक रोग निवारणका लागि प्रभावकारी योजना बनाउन नसकेको पनि उनको गुनासो छ । ‘मानसिक रोग झट्ट हेर्दा नदेखिने तर ठूलो समस्या हो । समयमै पहिचान गरेर उपचारमा जान सके सजिलै निको बनाउन सकिन्छ,’ उनी भन्छिन् ।