श्रम आप्रवासनले पलाएको आत्मविश्वास

विचार

लुम्बिनी प्रदेशको दक्षिणी भेगको एउटा गाउँमा अति निम्न आर्थिक स्थिति भएको तराई दलित परिवारकी जेठी सन्तानका रूपमा जन्मिएकी हुन्, सीता (परिवर्तित नाम) । परिवार ठूलो भए पनि जग्गाजमिनको नाममा एउटा कटेरो मात्र थियो । आमाबुवा मुख्यतः अर्काको खेत जोत्थे र बनिबुतो गर्थे । नपुगेको टार्न स्थानीय गैरदलित कृषक, जसलाई स्थानीयहरू साहु भनेर चिन्थे, उनैसँग चर्को ब्याजमा ऋण लिन्थे ।

यसरी जेनतेन गरेर चार सन्तानसहित ६ जनाको परिवारको गर्जो धानिन्थ्यो । भाइबहिनीहरूको धरालो गर्दै हुर्किरहेकी सीतालाई पनि १० वर्ष पुगेपछि त्यही साहुको घरमा घरेलु श्रमिक बनाइयो । किनकि, उनका बुवाले लिएको दुई हजार रुपैयाँ ऋण ६ वर्षमा ब्याजसहित ३२ हजार रुपैयाँ पुगिसकेको भनेर साहुले कागज गराएका थिए ।

साहुले दुई महिनाभित्र तिर्नू, नत्र कटेरो पनि छाड्नू भनेपछि सीताका बुवाले सबैभन्दा पाको सन्तान १० वर्षीया सीतालाई नै बाध्यतात्मक श्रममा हेलेका थिए । उनीसँग न त दुई हजार लिँदाको कुनै कागज थियो, न त ब्याजको दर नै थाहा थियो । केवल थाहा थियो, सीताका ११ महिनाको भाइलाई निमोनिया भएपछि उपचार गर्न ऋण लिएको । आखिर साहुले भने जति तिर्नु त थियो नै, किनकि त्यही हिसाबकिताबबिनाको ऋणले उनको छोरो बचाइदिएको थियो । अनि न त उनका लागि बालश्रम अपराध हो भन्ने कानुनसँग कुनै सम्बन्ध रह्यो, न त सीताका लागि बालिका अधिकारको अर्थ नै । बर्सेनि जस्तो सन्तान जन्माउने तर पौष्टिक आहार तथा सामान्य खानासमेत नपाएकी सीताकी आमा रक्तअल्पताले गाँजिएकी थिइन् । दैनिक ज्याला मजदुरी गर्न र साना सन्तानको हेरचाह गर्न पनि धौधौ थियो ।

जोकोहीलाई पनि बुझ्न कठिन छैन कि सीताका बुवाको वर्गका जनताका लागि राज्य भने पनि, बैंक भने पनि, गर्जो टार्ने छिमेकी भने पनि तिनै मिटरब्याजी साहुहरू नै थिए, अहिले पनि छन् नै । एउटा निश्चित र मुट्ठीभर वर्गको आर्थिक लगानीमा सञ्चालित वर्तमान राजनीतिले सीताहरू च्यापिएको समाजको पिँध भेटाउने त कुरै भएन । त्यसैले त यो परिवारलाई गणतान्त्रिक नेपालले तय गरेको भनिएको शिक्षा र स्वास्थ्य जस्ता मौलिक अधिकारको प्रावधानको कुनै अर्थ भएन ।

स्थानीय बैंकबाट लिन सकिने भनिएको सुलभ ऋणको पनि अर्थ रहेन । त्यसैले त, यस्ता स्थानीय साहुले मनलाग्दी ब्याज असुली गर्दै आर्थिक रूपमा चुसिएका, सामाजिक–सांस्कृतिक रूपमा समाजको पिँधमा हुत्याइएका र केही वर्षमा एक दिनका लागि राजनीतिक रूपमा प्रयोग गरिएका सीताहरूका परिवारको उठीबास लगाउने शोषणको चक्र चलाइरहेका छन् । सीताहरूलाई त्यसमै हेलिनुपर्ने बाध्यता छ । केही महिनाअगाडि मसँगको कुराकानीमा उनी भन्दै थिए, ‘ती गाउँले साहु भनेका त मिटरब्याजी साहु पो रहेछन् । हामीले त गाउँका भगवान् पो मानेका थियौं । होइन रहेछ ।

यसरी एउटी बालिका श्रम शोषणको चक्रमा परिन् । र, कहिल्यै तिरेर नसकिने दुई हजारका लागि आफ्नै छिमेकमा बेचिइन् । यो बृहत् आप्रवासनभित्रको नकारात्मक आयाम भनेर बुझिने मानव बेचबिखनको अनेक स्वरूपमध्ये एउटा स्वरूप हो । किनकि त्यहाँ सहमति छैन, बाध्यता छ । श्रमको परिभाषा होइन, जालझेल छ । पारदर्शिता छैन, छलछाम छ । त्यहाँ कानुनी कागजात अथवा करारपत्र छैन, बन्धकीको चरित्र छ । र, सबैभन्दा जटिल त त्यहाँ बाध्यात्मक बालश्रम छ ।

त्यस्तो श्रम जहाँ श्रमिकको स्वीकृति वा सहमतिको कुनै अर्थ नै हुँदैन । झट्ट सुन्दा, मानव बेचबिखनका विरुद्धमा लगानी गर्ने पश्चिमा उदारवादी दाता र तिनका स्थानीय धनाढ्य गैरसरकारी संस्थाहरूले सीताका बुवालाई दोषी ठान्लान् । किनकि, उनले दुई हजार लिएबापत ३२ हजार तिर्न नसकेर नाबालिका छोरीलाई बालश्रममा साहुलाई सुम्पिए । तर, एकछिन हामीले आफूलाई सीताका बुवा र समग्र परिवारको ठाउँमा राखेर सोच्ने हो भने बुझ्न सकिन्छ, यस्तो निर्णयमा किन, कसरी, कसबाट गराइयो ? सीताले अनेकौं प्रकृतिका शोषण र उत्पीडन सहेर त्यो साहुकोमा आफ्नो उमेरभन्दा कैयौं गुणा गह्रौं श्रम गरिन् । तर, ११ वर्षसम्म पनि त्यो दुई हजारले सिर्जना गरेको ऋणको पासोबाट उम्कन सकिनन् । किनकि साहु आर्थिक, सामाजिक–सांस्कृतिक र राजनीतिक रूपले पहुँचवाला थिए । अर्कोतिर, सीताको परिवार सबै पक्षबाट सीमान्तकृत भई समाजको पिँधमा च्यापिएको थियो ।

यस्ता थुप्रै पक्षहरू छन्, जसबारे यहाँ चर्चा गरिरहन सम्भव छैन । तर, श्रम आप्रवासनले उनी र उनको परिवारलाई कसरी आर्थिक रूपमा उकास्यो, उनको वैयक्तिक स्वाभिमान र आत्मविश्वास जगेर्ना गर्न सघायो भन्ने पक्ष थोरै कोट्याउने प्रयास गर्न खोजेका छु ।

श्रम आप्रवासनले फेरिदिएको पारिवारिक अर्थतन्त्र

साहुको घरमा श्रम गरेरै बालापन र किशोर अवस्था गुजारेकी सीताले राम्ररी लेखपढ गर्न पाइनन् । तर, भाइबहिनीको धरालो गर्दैगर्दा स्थानीय प्राथमिक स्कुलबाट नामसम्म लेख्न सक्ने भएकी थिइन् । अनि आफ्ना दौंतरीले वैदेशिक रोजगारीमा अरबका विभिन्न श्रम बजारमा श्रम गरेको र परिवारको आर्थिक स्थिति विगतको भन्दा सबल बनाएको साक्षी पनि भइन् । उमेर पुगेपछि नागरिकतासँगै राहदानी बनाएर वैदेशिक रोजगारीमा जाने सपना देख्न थालिन् । पछि कुवेत पुगिन् । तत्कालीन सरकारले महिलालाई घरेलु श्रमका लागि प्रतिबन्ध लगाएलगत्तै केही महिनामै दलालमार्फत उनी त्यहाँ पुगेकी थिइन् । उनीभन्दा केही अगाडि गएकी एक साथीको सहयोगमा एउटा घरमा घरेलु श्रमिकका रूपमा काम गर्न थालिन् ।

यस पटक पनि सीताका लागि राज्यको भूमिका नागरिकता र राहदानी दिनेमै सीमित भयो । किनकि उनलाई औपचारिक बाटो हुँदै, उनले गर्न सक्ने, जानेको र साहुको घरमा गरिरहेकै घरेलु श्रमका लागि वैदेशिक रोजगारीमा जान राज्यले नै बन्देज गरेको थियो । उनको सानैदेखिको सामाजिकीकरण घरभित्रको बढारकुँडारमा सीमित थियो । त्यसैले त उनलाई उनकी साथीले घरेलु श्रमको सुइँको दिइन् र उनै साहुभन्दा महँगा दलालमार्फत गन्तव्य श्रम बजार पुग्ने उपाय सुझाइन् ।

श्रम आप्रवासन व्यक्ति र उसको परिवारको हर्षित चाहनाभन्दा पनि परिवारको हैरान दैनिकीले निम्त्याएको परिस्थितिको बाध्यात्मक निर्णय हो । त्यस्तो परिस्थितिको सम्बोधन गर्दै परिवारको आर्थिक अवस्था उकास्ने महत्त्वपूर्ण आयाम पनि हो । हामीले श्रम आप्रवासनलाई जति सतही रूपमा बुझेका छौं र युवा पलायनको नकारात्मक भाष्य निर्माण गरिरहेका छौं, त्यसभन्दा कैयौं गुणा सम्भावनाको अवसर र जटिल चुनौतीहरूको योगफल हो, श्रम आप्रवासन ।

किनकि, उदार लोकतन्त्रका राजनीतिक पक्षहरूले सिर्जना गरेका श्रम बजारको जटिलताको सम्बोधन र समन्वय गर्न परम्परावादी राजनीतिक नेतृत्वको संकुचित दृष्टिकोणले नसक्दा सिर्जित युवा बेरोजगारी घरेलु श्रम बजारले थेग्न सक्ने कुरा भएन । त्यस्तो अवस्थामा विश्व श्रम बजार नै सीताहरूका जीविकोपार्जनको आधार बन्ने नै भयो । यद्यपि, सीताहरूका लागि विश्व श्रम बजारको लैंगिक आयाम पनि कम जटिल छैन । किनकि, सीताहरू जन्मे, हुर्केको घरेलु समाज र युवा अवस्थामा उनीहरूले श्रम गर्ने, विश्व श्रम बजारलाई संयोजन गर्ने सामाजिक मूल्यमान्यता, सांस्कृतिक तगारा र तिनलाई संरक्षण गर्ने पितृसत्ताको चरित्र र प्रवृत्तिमा तात्त्विक भिन्नता पाइँदैन ।

चाहे त्यो पुँजीवादी पितृसत्ता होस् या समाजवादी, विषाक्ततामा थोरबहुत भिन्नता होला, आखिर पितृसत्ता आखिरमा पितृसत्ता नै हो । त्यसैले त अनेक बहानामा समाजमा जबर्जस्त स्थापना गरिएका लैंगिक मूल्यमान्यता र तिनका आडमा गरिने विभेदहरूले विभिन्न लैंगिक पहिचान भएका व्यक्तिको दैनिकीमा जसरी असर पारिरहेका हुन्छन्, त्यसभन्दा झन् मिहिन प्रकृतिका असरहरू पारेको आप्रवासनको गन्तव्य छनोट, श्रमको प्रकृति र बजारको प्रवृत्तिलगायत सुरुदेखि अन्त्यसम्मको समग्र प्रक्रियाका अनुभूतिले पुष्टि गरेका पाइएको छ ।

लैंगिक विभेद अन्य सामाजिक–सांस्कृतिक, रंगभेद, जातीय, भौगोलिक, शारीरिक र मानसिक फरक क्षमता हुँदा गरिने विभेद र वर्गीय विभेदसँगै थप चुनौतीको धारमा अडिएको हुन्छ र अवसर र चुनौतीहरूको सम्भावनाहरूलाई निर्देश गर्छ । स्वाभाविकै रूपमा महिला र यौनिक अल्पसंख्यकका लागि अवसर कम र चुनौती बढी हुने गर्छन् । श्रम बजार र त्यसमा पनि आप्रवासन गन्तव्यको श्रम बजारमा यी चुनौतीहरू झन् जटिल हुने गरेको विभिन्न तहमा भए गरेका अनुसन्धानहरूले नै पुष्टि गरेका छन् । तर पनि श्रम आप्रवासन नै घरको आर्थिक चुनौती सम्बोधन गर्ने एउटा भरपर्दो विकल्पका रूपमा अधिकांश युवाले देख्नु एउटा अनिवार्य वास्तविकता हो ।

त्यसैले त राज्यले अनेक कानुनी बन्देज थोपरे पनि, समाजले लैंगिक विभेदले डामे पनि सीताहरू दलालकै पछि लागेर भए पनि थुप्रै चुनौतीको सामना गर्दै आफ्नो र परिवारको अर्थतन्त्र उकास्न श्रम आप्रवासनको निर्णय गरी विश्वका करोडौं महिला आप्रवासीको संख्यामा आफूलाई पनि थपिरहेका छन् । संयुक्त राष्ट्रसंघको आप्रवासन निकायले निकालेको पछिल्लो प्रतिवेदनका अनुसार आप्रवासनको समग्र तथ्यांकमा करिब ४८.१ प्रतिशत महिला आप्रवासी छन् । य

द्यपि यो तथ्यांक पूर्ण भने होइन । विभिन्न स्रोतसँग समन्वय गरी निकालेको उत्कृष्ट अनुमानित तथ्यांक भने हो । किनकि, सीताहरू जस्तै दलालमार्फत लगिएका श्रमिकको लेखाजोखा राज्यसँग हुँदैन । उसो त पुरुष आप्रवासीले ओगटेको ५१.९ प्रतिशत पनि उस्तै अनुमानित हो । यसले के प्रस्ट पार्छ भने राज्य संयन्त्रभन्दा गैरराज्य संयन्त्र संगठित छ र त आप्रवासनको नाममा मानव तस्करी र बेचबिखन जस्ता सामाजिक अपराधले समग्र आप्रवासन प्रक्रियामा चुनौती थपेको छ ।

यति बिघ्न विभेद हुँदाहुँदै र श्रम आप्रवासनमा जान राज्यले रोके पनि सीताहरूले दलालमार्फत नै भए पनि जोखिमपूर्ण निर्णय गर्छन् त ? यो प्रश्नको जवाफ हामीले आफूलाई सीताको ठाउँमा राखेर खोज्नुपर्छ । अनि बुझ्नुपर्छ कि, सीता जस्ता श्रमिक हजारमा होइन, लाखौंको संख्यामा नेपाली महिलाहरू बाहिर छन् । र, हिजो आफ्नो घरमा जुन श्रमका लागि तयार पारिएका थिए, उस्तै श्रम गन्तव्य मुलुकका घरहरूमा पनि गर्दै छन् । फरक यति हो, उनीहरू राज्यको श्रम आप्रवासनको तथ्यांकमा पर्दैनन् अनि उनीहरूले पठाएको विप्रेषणको गणना पनि सांकेतिक रूपमा मात्र हुने गर्छ । तर, परिवारको महत्त्वपूर्ण टेको भई आर्थिक अवस्था उकासेका छन् । अनि आफ्नो घरमा गरेको घरेलु श्रमको आर्थिक मूल्य/ज्याला हुँदैन तर गन्तव्य मुलुकमा विभेदी नै भए पनि ज्याला पाइन्छ ।

मैले पछिल्लो पटक भेट्दा सीता एउटा सानोतिनो व्यवसायी बनिसकेकी थिइन् र गर्वसाथ भन्दै थिइन्– ‘केही वर्ष कुवेतमा काम गरेको कमाइले साहुको ऋण तिरें । भाइलाई कृषि प्राविधिक (जेटीए) पढाएँ । कान्छी बहिनी ११ मा पढ्दै छ । आमालाई बचाउन नसके पनि मुटुको रोगी बुवाको औषधि उपचार गर्न सकिएको छ । अलिकति जमिन भाडामा लिएर तरकारी खेती गर्दै छु । अब कुखुरा थपेर व्यवसाय बढाउने योजना छ । बुवाआमाले भोगे जस्तो कष्टकर जीवन अब नहोला ।’

नफेरिएको जातीय सोच

आर्थिक हैसियत फेरिएसँगै सीता र उनको परिवारलाई उनका छिमेकी र आफन्तले गर्ने व्यवहार पनि फेरिएको छ । तर उनीप्रति जातीयताका आधारमा गरिने व्यवहार भने त्यति फेरिएको पाइएन । तर, आर्थिक रूपले अलिक दह्रो भएपछि भने आफ्नै आत्मविश्वास बढेको सुनाउँदै उनले थपिन्, स्थानीय महिला समूह, कृषि उद्यम समूह, तरकारी व्यवसायी समूह जस्ता गाउँका टोल समूहमा उनलाई कतै सदस्य त कतै उपाध्यक्ष चुनेका छन् । कतिपय छिमेकी त पैसा सापट माग्न आउँछन् । साहुनी दिदी भन्छन् । यस्ता सन्दर्भ सुनाउँदा उनी हाँस्छिन् ।

उनका लागि प्रयोग भएको ‘साहुनी’ शब्दसँगै छुटेको हाँसोले उनी हुर्केको समाजमा सामाजिक–सांस्कृतिक रूपमा ठूलो अर्थ राख्छ । मैले प्रश्न गरेकी थिएँ, ‘तराई मूलको दलित भएकोमा कस्तो व्यवहार छ त ? त्यो पनि तराई मूलकै गैरदलित समूहको दबदबा भएको त्यो गाउँमा ?’ मेरो प्रश्न नसकिँदै उनले जवाफ दिइन्, ‘जातका आधारमा समान व्यवहार हुन त म फेरि कुवेत नै जानुपर्छ । जहाँ हामी काम गर्नेहरू भेट्दा जात, धर्म, देश केही पनि नमान्ने । सबै दिदीबहिनी र दाजुभाइ । सबै नेपाली, सबै परदेशी तर नेपाल आएपछि त फेरि को के, को के ।’

आफ्नो भनाइ पुष्टि गर्दै उनी मलाई सुनाउँदै थिइन् कि उनलाई वैदेशिक रोजगारमा घरेलु श्रमिकका रूपमा कुवेत जान सुझाएकी छिमेकी साथी गैरदलित थिइन् र कुवेतमा बिदामा भेट्दा सँगै बसेर खाजा खाने तर नेपाल फर्केपछि सीताले आफ्नो घरमा चिया निम्तो दिँदा परिवारले थाहा पाए नराम्रो मान्छ भनेर निम्तो अस्वीकार गरिछन् । सीताको जस्तै श्रम आप्रवासनबाट फर्केकाले भोगेको जातीय विभेदको भोगाइ मैले

आफ्नो अनुसन्धानको अन्य सन्दर्भमा पनि भेटेको छु । श्रम आप्रवासन सिर्जित आर्थिकसँगै सामाजिक–सांस्कृतिक, प्राविधिक विप्रेषण/पुँजीले समाजमा निकै सकारात्मक प्रभाव पारे पनि हाम्रो जस्तो सांस्कृतिक रूपान्तरणको दृष्टिकोणबिनाको राजनीतिक परिवर्तनले सामाजिक चेतना त्यति फेर्न सकेको जस्तो देखिन्न ।

यो एउटा छुट्टै र अलिक गहिरो अनुसन्धानको विषय हुन सक्ला । तर सीताका लागि अहिले भने जातीय विभेदभन्दा पनि श्रम आप्रवासनले सुधारिएको उनको आर्थिक स्थितिलाई दीर्घकालसम्म टिकाउन र कुवेतमा गरेको श्रमले बढाएको आत्मविश्वास कायम राख्दै सुरु गरिएका व्यवसायलार्ई अगाडि बढाउनु नै मूल उद्देश्य हो भन्ने लाग्छ । नत्र, उनका भाइबहिनी, उनी र उनका बा–आमा जस्तै साहुको ऋणको चक्रमा फेरि नपर्लान् भन्न सकिन्न ।

Share this:

Leave a Reply