सूर्योदय नगरपालिका १३ स्थित ज्योति माविमा विद्यालय व्यवस्थापन समिति गठन

समाचार

प्रविन विसी , लक्ष्मिपुर इलाम

इलामको सूर्योदय नगरपालिका १३ स्थित ज्योति माविमा विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । प्रेम राईको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको हो ।

गत फागुन १८ को अभिभावक भेलाबाट समितिमा प्रेम राई, पूर्णबहादुर राई, निर्मला राई र गीता राई चयन हुनुभएको थियो । धनबहादुर राईलाई नगरले चयन गरेको थियो भने वडाले प्रतिनिधि सदस्यका रूपमा प्रवीन बिसीलाई चयन गरेको थियो ।

समितिमा शिक्षक(अभिभावक संघ अध्यक्ष सोम कट्टेल , प्रधानाध्यापक दीपक पौडेल सदस्य–सचिव रहनुहुने छ भने शिक्षक प्रतिनिधिबाट शारदा आचार्य सदस्य लाई चयन गरिएको छ । सदस्यमा निर्मला मैनाललाइ चयन गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिमा वडाका प्रतिनिधि, शिक्षक–अभिभावक संघ अध्यक्ष, प्रधानाध्यापक र शिक्षक प्रतिनिधि अध्यक्ष हुन नपाउने व्यवस्था छ ।
ज्येष्ठ नागरिक तथा वडाका पूर्वअध्यक्ष पूर्वशिक्षक धनबहादुर राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको हो । समितिका निवर्तमान अध्यक्ष दिनानाथ मिश्रले हालसम्म विद्यालयमा भएका संक्षिप्त गतिविधि प्रस्तुत गरेका थिए ।

वडाका प्रतिनिधि प्रवीन बिसीले विद्यालयलाई गुणस्तरीय शिक्षा र असल आचरणको केन्द्र बनाउनुपर्ने बताउनुभयो । कार्यक्रमका अध्यक्ष धनबहादुर राईले शिक्षामा कसैले पनि लालच देखाउन नहुने बताउनु्भयो । प्रधानाध्यापक दीपक पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

यसलगत्तै, शिक्षक–अभिभावक संघको पूर्ण बैठक समेत सम्पन्न गरिएको छ । सोम कट्टेलको अध्यक्षतमा आठ सदस्यीय संघ गठन गरिएको थियो । संघमा शिक्षक प्रतिनिधि दीपा भट्टराई र सदस्यहरुमा पूर्णबहादुर राई, अञ्जु राई सुब्बा, चेतन गौतम, पम्फादेवी दर्नाल, संगीता राई र गीता आचार्य चयन गरिएको छ ।

हिजोको पहिलो भेलाले वैशाख २ देखि ९ सम्म संघ, व्यवस्थापन समिति र शिक्षकहरू विद्यार्थी भर्नाका लागि घरदैलो कार्यक्रममा जाने निर्णय गरेको छ ।

स्कुलको मासिक गतिविधि समेटेर क्यालेन्डर निर्माण गरिने भएकाले शिक्षक–अभिभावक संघको तर्फबाट आवश्यक एजेन्डा पेस गर्नेलगायत विषयमा समेत छलफल गरिएको शिक्षक प्रतिनिधि दीपा भट्टराईले जानकारी दिनुभयोे ।

Share this: