नेपाल र बाङ्ग्लादेशबीच सडक मार्गबाट हुने व्यापारिक गतिविधिलाई सहजीकरण गर्न दिल्ली र काठमाण्डूका उच्च वाणिज्य अधिकारीहरू सहमत बनेको दुवै देशले जनाएका छन्। उक्त समझदारीपछि भारतीय बाटो हुँदै नेपाल र बाङ्ग्लादेशबीच हुने व्यापारिक आदानप्रदान निकै सहज बन्नेू व्यापारी तथा विज्ञहरूको विश्वास छ। नेपालका लागि बाङ्ग्लादेश दक्षिण एशियाली राष्ट्रहरूमा भारतपछिको मुख्य व्यापारिक साझेदार मध्येमा पर्छ। सामुद्रिक मार्गसम्म आफ्नो सीधा पहुँच नभएको नेपालका लागि कतिपय अवस्थामा बाङ्ग्लादेशी बन्दरगाह भारतीय बन्दरगाहको विकल्प बन्न सक्ने बताइन्छ।
गत साता काठमाण्डूमा व्यापार तथा पारवहनसम्बन्धी भारत–नेपाल अन्तरसरकारी समिति आईजीसीको दुई दिने बैठक भएको थियो। नेपालबाट उक्त बैठकको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले गरेका थिए भने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व त्यहाँका वाणिज्य सचिव सुनिल बर्थवालले गरेका थिए। उक्त बैठकमा विभिन्न सहमति बनेको दुवै देशका वाणिज्य मन्त्रालयहरूले जारी गरेका विज्ञप्तिमा उल्लेख छ। त्यसमा नेपालको पूर्वी नाका काँकडभिट्टाबाट भारतको फुलबारीहुँदै बाङ्ग्लादेशको बङ्गलाबन्धसम्मको पारवहन व्यवस्थालाई सहजीकरण गर्ने विषय पनि समेटिएको छ।
भारतीय वाणिज्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, नेपाली पक्षको अनुरोधमा भारतीय पक्षले फूलबारीको रुट हुँदै काँकडभिट्टा बङ्गलाबन्ध सम्मको कार्गो–इन–ट्रान्जिटका हकमा सडक परिवहन तथा राजमार्ग मन्त्रालयको प्रचलित नियमअनुसार टू एक्सल सवारीसाधनका लागि अधिकतम एक्सल तौल १८।५ टन र थ्री एक्सल सवारीसाधनका लागि अधिकतम २८ टनको एक्सल तौल नेपाली सवारीसाधनका हकमा पनि लागु गर्न सकिनेमा सहमति जनाएको छ।
अहिले काँकडभिट्टाबाट बाङ्ग्लादेशतर्फ जाने नेपाली ट्रकहरूको अधिकतम तौल १९ टनभन्दा माथि हुन नहुने व्यवस्था थियो। सहमतिअनुसार अबको केही समयपछि नै नयाँ व्यवस्था लागु हुने अपेक्षा नेपाली अधिकारीहरू तथा व्यवसायीले बताएका छन्।
खबर स्रोत : वि वि सी न्युज