पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपिभी खोप अभियान सूर्योदय नगरपालिकामा माघ २७ गते देखि संचालन गरीने भएको छ ।
नगरका ४५ वटा विद्यालय र १४ स्वास्थ्य संस्थामा अभियानकै रुपमा खोप लगाईने आज अभिमुखीकरण कार्यक्रम गरी जानकारी दिइएको हो । नगरको स्वास्थ्य शाखाले पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम गर्दै नगरका विद्यालयमा अध्ययनरत कक्षा ६ देखि कक्षा १० सम्मका किशोरी र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समुहका किशोरीलाई खोप लगाईने स्वास्थ्य शाखा प्रमुख बिपुल अधिकारीले जानकारी दिनुभयो । उहाका अनुसार नगरका एक हजार आठ सय २८ जनालाई खोप लगाईने छ । उक्त खोप आगामी वर्ष पनि कक्षा ६ देखिका विद्यार्थीलाई निरन्तर लगाइने छ भने विद्यालय बाहिर रहेका १० वर्ष देखि १४ वर्ष सम्मका अन्य किसोरीलाई पनि खोप लगाईने छ । ‘सेकोलिन’ नामक उक्त भ्याक्सिन सिंगल डोजमा लगाईने शाखाले जनाएको छ ।
माघ २७ देखि फागुन २ गते सम्म नगरमा अभियान संचालन गर्नका लागि यस अघि नै उक्त खोप सम्बन्धि तालिम स्वास्थ्यकर्मीलाई दिई सकिएको छ । शाखाले प्रत्येक वडामा अभिमुखीकरण कार्यक्रम संचालन गरी अभियान संचालन गर्ने जनाएको छ । शाखा प्रमुख अधिकारीले पहिलो चरणमा एचपिभी खोप लगाउने, दोस्रो चरणमा स्क्रृनिङ गर्ने र तेस्रो चरणमा उपचार गर्ने गरी तीन चरणमा पाठेघरको मुखको क्यान्सको उपचार गर्न सकिने जानकारी दिनु भयो ।
“सरकारले यो खोपलाई शतप्रतिशत प्रभावकारी भनेको छ । यो खोप लगाउदा अन्य कुनै प्रकारका असर नपर्ने समेत जनाइएको छ ।”
नगर प्रमुख रण बहादुर राईको अध्यक्षतामा सम्पन्न अभिमुखीकरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अमृत राई, वडा नं। १० का अध्यक्ष पेमाउगेन लामा, वडा नं। १ का वडाध्यक्ष राजकुमार लिम्बु सहित जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी र संचारकर्मीको उपस्थिति रहेको थियो । कार्यक्रममा शाखा प्रमुख अधिकारीले खोपबारे प्रस्तुतीकरण गर्नु भएको थियो । नगर प्रमुख राईले किसोरीका लागि महत्वपूर्ण खोप भएकाले सबैलाई अभियानमा सहभागी गराउन आग्रह गर्नु भयो । सरकारले माघ २२ गतेबाट देश भर यो अभियान संचालन गर्ने भएको छ । इलामका १० वटै पालिकामा यो खोप अभियान संचालन हुने छ ।
नेपालमा वर्षेनी पाठेघरको मुखको क्यान्सर दुई हजार बढीमा लाग्ने र एक हजार तीन सयको मृत्यु हुने गरेको तथ्याङ्क छ । प्रत्येक दिन नेपालमा चार जना महिलाको मृत्यु पाठेघरकोबाट हुने गरेको छ ।