चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ८० करोड ६१ लाख ३९ हजार रुपैयाँको छुर्पी निर्यात भएको छ । भन्सार विभागका अनुसार ९ लाख ६३ हजार ९२७ किलो छुर्पी निर्यात भएको हो ।गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आर्थिक वर्षमा छुर्पी निर्यात बढेको विभागको तथ्यांक छ । गत आर्थिक वर्षको साउनदेखि पुससम्म १ अर्ब ४१ करोड २९ लाख रुपैयाँको छुर्पी निर्यात भएको थियो । नेपालमा उत्पादन भएको छुर्पी साउनदेखि पुससम्म अमेरिका, क्यानडा, बेलायत, जापानलगायत २२ मुलुकमा पुगेको छ । विभागका अनुसार सबैभन्दा बढी छुर्पी अमेरिका र सबैभन्दा कम स्लोभाकियामा पुगेको छ । अमेरिकामा मात्रै १ अर्ब ५९ करोड ४६ लाख ४३ हजार रुपैयाँको छुर्पी निर्यात भएको विभागको तथ्यांक छ । यस्तै क्यानडामा १३ करोड ३ लाख, बेलायतमा ३ करोड ३ लाख, जापानमा १ करोड ८५ लाख, कोरियामा ६८ लाख, मलेसियमा ४१ लाख र युक्रेनमा ३५ लाख रुपैयाँको छुर्पी निर्यात भएको छ । सबैभन्दा कम १ लाख २३ हजार रुपैयाँको छुर्पी स्लोभाकियामा निर्यात भएकाले विभागले जनाएको छ । व्यवसायीका अनुसार विदेशमा कुकुरको प्रमुख खान्की नै छुर्पी हो । विभागको पछिल्लो ५ वर्षको तथ्यांकअनुसार निर्यात बजार उत्साहजनक छ । २०७६÷७७ मा १ अर्ब २२ करोड ८३ लाख रुपैयाँको ७ लाख १७ हजार २ सय ६४ किलो छुर्पी निर्यात भएको छ । २०७७÷७८ मा १ अर्ब ९६ करोड ५० लाख ४६ हजार रुपैयाँको १२ लाख ६२ हजार ९ सय ९८ किलो छुर्पी निर्यात भएको उल्लेख छ । विभागका अनुसार २०७८÷७९ मा २ अर्ब ९१ करोड १९ लाखको छुर्पी निर्यात भएको छ । यस अवधिमा १७ लाख ४४ हजार ४ सय ५१ किलो निर्यात भएको जनाएको छ । ०७९÷८० मा ३ अर्ब ४० करोड ९० लाख रुपैयाँको १७ लाख ८६ हजार १ सय १२ किलो निर्यात भएको छ । २०८०÷८१ मा ३ अर्ब १८ करोड ४३ लाख रुपैयाँको १६ लाख ४६ हजार ८ सय ८७ किलो निर्यात भएको विभागको भनाइ छ ।