इलामको पाथीभरामा दुइ वर्षमा तीन करोड ३६ लाख रुपैयाँ जम्मा

विविध

इलाम :

इलामको रोङ गाउँपालिका–३ स्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरको संरक्षण समिति पुनर्गठन गरिएको छ ।

शुक्रबार मन्दिर परिसरमा भएको भेलाले पुनः दिलीप राई बाङ्देलको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरेको हो ।

गाउँपालिका अध्यक्ष मनीकुमार स्याङ्बो सुवास, उपाध्यक्ष विष्णुमाया खवास, प्रमुख प्रशासकीय अधिकृत विनोद चौहानलगायतको उपस्थितिमा सम्पन्न भेलाले पुरानै समितिका पदाधिकारी र धेरैजसो सदस्यलाई पुनः चयन गरेको छ । समितिको सचिवमा एगा अर्याल तथा कोषाध्यक्षमा कृष्ण भुजेल पुनः चुनिनुभएको छ ।

पुरानो समितिले दुई वर्ष आफ्नो कार्यकाल पुरा गरेकामा पालिकाले सम्मान समेत गरेको छ ।
पाथीभरा मन्दिरको व्यवस्थापन दुई वर्षयता पालिकामातहत आएको हो । स्थानीय सरकार सञ्चालन ऐनको अधिकार प्रयोग गरी रोङले पाथीभरा मन्दिर आफूमातहत ल्याएको हो ।

त्यसअघिसम्म मन्दिरबाट पालिकामा कुनै राजस्व संकलन हुँदैनथ्यो । तर, पालिकाले सञ्चालन गर्न थालेपछि अहिलेसम्म तीन करोड ३६ लाख रुपैयाँ जम्मा भएको पाकिा अध्यक्ष मनिकुमार स्याङ्बो सुवासले जानकारी दिनुभयो । उहाँका अनुसार मन्दिरले पालिकाको आन्तरिक आम्दानीमा ठूलो भरथेग गरिरहेको छ ।

‘पालिकाअन्तर्गत भएपछि मन्दिरको भौतिक पूर्वाधारका काम पनि भएका छन्, उनले भन्नुभयो ‘यसलाई पर्यटकीय आकर्षणको केन्द्र बनाउन पालिकाले प्रयत्न गरिरहेको छ ।’

यसअघिको समितिले सफलतापूर्वक कार्यकाल पूरा गरेको पालिका उपाध्यक्ष विष्णुमाया भुजेलबताउनुभयो । यो मन्दिर पालिकामातहत आएपछि धेरै सुधार भएको छ, समितिले चित्तबुझ्दो हिसाबले काम गरेको छ उहाँले भन्नुभयो ।

पाथीभरामा प्रायः मंगलबार र शनिबार धार्मिक पर्यटकको भिड लाग्छ । झापाबाट नजिकै पर्ने भएकाले पनि पाथीभरा धेरैको गन्तव्य बन्नेगरेको छ ।

Share this: