इलाम :-
इलाममा कुुटपिटबाट एकको ज्यान गएको छ । इलाम नगरपालिका–९, गोलबस्तीका ३२ वर्षे मिलन सुनुवारको ज्यान गएको प्रहरीले जनाएको छ ।
माघ २४ गते साँझ ७ बजेतिर इलाम नगरपालिका–९ मा उनी कुटपिटबाट गम्भीर घाइते भएका थिए । उपचारका लागि झापा लैजानेक्रममा कन्याम पुर्याएपछि उनको मृत्यु भएको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी मानबहादुर राईका अनुसार घाइते सुनुवारको इलाम अस्पतालमा उपचार भएर सामान्य भएपछि डिस्चार्ज गरिएको थियो । तर, शुक्रबार बिहान उनले बान्ता गरेपछि थप उपचारका लागि झापा लैजाने क्रममा मुत्यु भएको हो ।
काम गरेर फर्किंदैगर्दा आफ्नै साथीले कुटपिट गरेपछि सुनुवार गम्भीर घाइते भएका थिए । कुटपिट गर्ने व्यक्ति फरार छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।