इलाममा साथीको हत्या गरी फरार भएका बिमल खवास पक्राउ

समाचार

साथीलाई हत्या गरी फरार भएका इलाम नगरपालिका– ९ पोखरिया स्कुलछेउ गोलबस्ती बस्ने ३१ वर्षीय बिमल खवास पक्राउ परेका छन् । गए राति बिमल खवासलाई इलाम– ७ टुँडिखेलमा जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी सहायक निरीक्षक प्रदिप मुखियाको कमाण्डमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

खवासले कुटपिट गर्दा सोही ठाउँ बस्ने ३२ वर्षीय मिलन सुनुवारको मृत्यु भएको हो । बिहीवार साँझ ७ बजेतिर खवासले सुनुवारलाई कुटपिट गरि घाइते बनाएका थिए । सडकमा घाइते भई लडिरहेको अवस्थामा फेला पारी अटोमा हालेर सुनुवारलाई जिल्ला अस्पताल इलाम पठाइएको थियो ।

जिल्ला अस्पतालमा उपचारपश्चात् डिस्चार्ज भई घर गएकोमा शुक्रवार बिहान घाइते सुनुवारले बान्ता गरेका थिए । उनलाई आफन्तले पुनः जिल्ला अस्पताल इलाममा लगेकोमा त्यहाँबाट थप उपचारको लागि बिर्तामोड ल्याउँदै गर्दा दिउँसो १ बजेतिर इलामको कन्याममा मृत्यु भएको थियो ।

Share this: