काठमाडौँ :-
आयुर ढकाल र दीक्षान्त लामिछानेले मलेसियामा सम्पन्न १२ औं स्पिड पावर तेक्वान्दो च्याम्पियनसिपमा सोमबार स्वर्ण पदक जितेका छन् ।
मलेसियाको क्वालालम्पुरमा भएको च्याम्पियनसिपमा आयुर र दीक्षान्तको स्वर्णसहित नेपालले ७ पदक जितेको हो । दुवै स्वर्ण नेपालले पुम्सेमा जितेको हो । आयुरले ९ देखि ११ वर्ष उमेर समूह र दीक्षान्तले १२ वर्षमुनि उमेर समूहमा स्वर्ण जितेका हुन् ।
आयुरले झापाको मेची तेक्वान्दो डोजाङ र दीक्षान्तले हात्तीवन तेक्वान्दो डोजाङबाट खेल्ने गर्छन् । नेपालले समान ३ रजत र कांस्य पदक पनि जितेको छ । रिप्सना घिमिरे ग्यारोगीतर्फ महिला ४१ केजीमुनि रजत जित्न सफल भएकी हुन् । अर्को रजत भने द सेलिब्रेसन को–एडका जेमोस मगरले पुम्से ९ वर्षमुनि उमेर समूहमा ल्याए ।
ग्यारोगीतर्फ सिनियर पुरुष ५८ केजी तौल समूहमा राकेश सापकोटाले रजत पदक जिते । फाइटतर्फ नै असिम श्रेष्ठले ३७ केजीमुनि तौल समूहमा कांस्य जिते । लिरिक्स फुयालले ९ देखि ११ वर्ष उमेर समूहको एकल पुम्सेमा कांस्य जितेका छन् ।
उक्त च्याम्पियनसिपमा रेफ्री कुमार लामा घिसिङ, मुना खवास मगर र बब्लु सिवाकोटीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।