भारतको ओडिशास्थित केआइआइटी विश्वविद्यालयमा अध्ययनरत एक नेपाली छात्राको शंकास्पद मृत्यु भएको छ । कम्प्युटर इन्जिनियरिङ्ग अध्ययनरत तेस्रो वर्षकी छात्रा प्रकृति लम्साल होस्टेलको आफ्नै कोठामा आइतबार साँझ झुन्डिएको आवस्थामा मृत फेला परेकी हुन्।
विश्वविद्यालयमा अध्ययनत नेपाली छात्राको आत्महत्यापछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन्। विश्वविद्यालयमा अध्ययनरत एक नेपाली विद्यार्थीका अनुसार भारतीय विद्यार्थीले उक्त छात्रालाई अश्लील भिडियोमार्फत पटक पटक ब्ल्याकमेल गरेका थिए।
छात्राले दुई पटक आइआरओ (अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय, यो विश्वविद्यालयको अन्तर्राष्ट्रिय विभाग हो जसले विदेशी बच्चाहरूको रेखदेख गर्छ) कार्यालयमा निवेदन दिए पनि कुनै कारबाही नभएको ति विद्यार्थीले बताए।
तर यो विभागले समेत पीडित छात्राको कुनै सुनुवाइ नगरेपछि बाध्य भएर उनले आत्महत्या गर्नु परेको विद्यार्थीहरूको आरोप छ। अहिले विश्वविद्यालय परिसरमा विद्यार्थी आन्दोलनरत छन् भने प्रहरीले लाठी चार्ज गरेको विद्यार्थीको गुनासो छ।
छात्राको मृत्युपछि त्यहाँ रहेका अन्य नेपाली विद्यार्थीहरू त्रसित बनेका छन्। विश्वविद्यालयले बाँकी रहेका नेपाली विद्यार्थीहरू पनि गैर जिम्मेवारपूर्ण तरिकाले भुवनेश्वर रेल्वे स्टेशनमा छाडेर नेपाल फर्कन भनेपछि विद्यार्थीहरू अलपत्र परेका स्टेशनबाट कुरा गर्दै नागरिकसँग नेपाली विद्यार्थीले पीडा पोखे।
‘यस्तो पीडाको अवस्थामा विश्वविद्यालयले हाम्रो सुरक्षाको साटो गैर जिम्मेवारपूर्ण तरिकाले नेपाल फर्काउन खोज्यो,’ स्टेशनबाट एक छात्राले भनिन्, ‘हाम्रो भविष्य थप अन्योल र असुरक्षित बन्यो।’
यता यहि विषय उठान गर्न खोज्दा सांसद समना श्रेष्ठलाइ भने संसद भवन भित्र समय नदिएको भन्दै सभामुखले नियम आपत्ति हुने बताउदै बोल्न दिएका छैनन् ।