इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु ) र नेपाल विद्यार्थी संघ (नेविसंघ ) को संयुक्त प्यानल विजयी भएको छ ।
अध्यक्षमा अनेरास्ववियुका विशाल कार्कीसहित प्रत्यक्षतर्फको प्यानल विजयी भएको हो ।
भर्खरै सम्पन्न मतपरिणाम अनुसार कार्कीले पाँच सय ४५ मत ल्याएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी अखिल (क्रान्तिकारी) का शम्भू राईले तीन सय ४७ मत प्राप्त गरेका छन । राई साझा प्यानलका उम्मेदवार हुन् ।
निर्वाचन अधिकृत देवराज घिमिरेका अनुसार सचिवमा नेविसंघकी रेखा बेघा छ सय २१ मत ल्याएर विजयी भएकी छन । रेखाको निकटतम् प्रतिद्वन्द्वी सविन चौहानले दुई सय ५८ मत प्राप्त गरेका छन । कोषाध्यक्षमा अनेरास्ववियुका सुनील शंकर विजयी भएका छन । उनले पाँच सय ९२ मत ल्याएका छन् । निकटतम् प्रतिद्वन्द्वी मनिष गजमेरले दुई सय ७३ मत ल्याएका छन् ।
सदस्यहरुमा कुशल राईले ६०२ , निशा भट्टराईले ५१३ , विप्लव एक्तेनले ५२० , मंगेश राईले ५१७ , बिना बस्नेतले ४६६ र सुरेन्द्र गुरुङले ३८६ मत प्राप्त गरी विजयी भएका छन ।
समानुपातिकतर्फ पनि नौ सय चार मत खसेकामा नेविसंघ पहिलो भएको छ । नेविसंघले तीन सय ३६ मत ल्याएको हो । उसले तीन सिट पाएको छ । अनेरास्ववियु एमालेनिकटले दुई सय ७५ मतसहित तीन सिट पाएको छ । अखिल क्रान्तिकारीले दुई सय मतसहित दुई सिट पाएको छ भने अनेरास्ववियू नेकपा एसनिकटले ७८ मतसहित एक सिट पाएको छ । समानुपतिक तर्फ १५ मत बदर भएको छ ।
एक हजार पाँच सय ७४ मतदाता रहेकामा नौ सय चार मत खसेको थियो ।
लामो समयपछि इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा नेपाली कांग्रेस निकट ने।बि संघको बर्चस्व कायम भएको छ । समानुपतिक निर्वाचन प्रणाली लागुभएपछिको यो दोस्रो निर्वाचन हो ।