देशभर गर्मी बढ्न थालेको छ । केही दिनयता गर्मी बढ्दै गएको हो । विशेषगरी तराई–मधेशमा गर्मी धेरै छ ।
पश्चिम तराईका मुख्यगरी लुम्बिनी र सुदूरपश्चिममा सुक्खा हुँदा तापक्रम उच्च भएको मौमसविद्ले बताएका छन् । बढ्दो गर्मीले जनजीवन प्रभावित हुन थालेको छ ।
तुलनात्मकरुपमा भैरहवा, नेपालगञ्ज र धनगढीमा गर्मी धेरै छ । भैरहवामा पछिल्लोमापन अनुसार अधिकतम तापक्रम ४१ दशमलव ३ डिग्री सेल्सियस, धनगढीमा ४० दशमलव ८ र नेपालगञ्जमा ४० डिग्री सेल्सियस पुगेको छ । अबका तीन दिन पानी पर्ने सम्भावना नरहेकाले अधिकतम तापक्रम अझै बढ्न सक्ने अनुमान छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार यी क्षेत्रसहित तराई–मधेश र अरु ठाउँमा गर्मी बढ्दो छ ।
तत्काल पानी पर्ने सम्भावना नरहेकाले तातो हावाको लहर चल्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउनसमेत मौसमविद्को सुझाव छ ।
आज पनि देशभरका धेरै ठाउँको मौसम सफा छ । काठमाण्डौ उपत्यकासहित देशका अधिकांश ठाउँमा घाम लागेको छ । स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा नै रहने अनुमान छ ।
दिउँसोपछि कोशी र गण्डकी प्रदेशका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
आज राति पनि कोशी र गण्डकी प्रदेशका पहाडी भागमा मौसम आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने अनुमान छ ।
source : – ujayalo online