इलामको सूर्योदय नगरपालिका ४ र ५ मा अवस्थित श्रीअन्तु समाल्बुङ बृहत खानेपानी आयोजना संचालनमा आएको छ । सूर्योदयन गरपालिका ४ र ५ का स्थानीयबासीले सुद्ध खानेपानीको व्यवस्था गर्न निर्माण भएको खानेपानी आयोजनाको निर्माण सम्पन्न भई अहिले १ महिने परिक्षणकालमा पानी संचालन भइरहेको हो । २०७८ असार २४ मा ठेक्का संझौता भएको आयोजना २०८१ चैत्र २४ मा निर्माण सम्पन्न भएको हो ।
१ हजार ९ सय १९ घरधुरीलाई शुद्ध खानेपानी वितरण गर्ने योजना रहेको खानेपानी आयोजना पम्पिङ प्रविधिको आयोजना हो । पम्पिङ प्रविधिको आयोजनाको मुख्य पाइपलाइन ४ किलोमिटर रहेको छ । आयोजनाको वितरण पाइपलाइन १ सय ९ किलोमिटर रहेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामका आयोजना प्रमुख उत्सव पोखरेलले बताउनुभयो ।
खानेपानी आयोजनाको मुहान क्षेत्र सिद्धिखोलाको महेन्द्र बेंसी र अन्तु खोला रहेको छ । २६ करोड २९ लाख ७७ हजार ९ सय ८६ मा स्वामीनारायण निर्माण सेवाले आयोजनाको कामको जिम्मा पाएपनि भेरिएसन सहित २६ करोड ९५ लाख रुपैँया खर्च भएको थियो । विद्युत पम्पको साहायताले पानी संकलन ट्याङ्कीसम्म हुने र आयोजनाबाट उपभोक्तामा वितरण हुन्छ । हाल धारा जडानको काम धमाधम भइरहेको छ । उपभोक्ता समितिले ३ सय घरधुरीमा धारा जडानको काम सम्पन्न गरिसकोको इञ्जिनियर रुपक पाराजुलीले जान्कारीदिनुभयो ।
आयोजनामा उपभोक्ताको १ प्रतिशत नगद र ९ प्रतिशत जनश्रमदान रहेको छ । प्रतिसेकेण्ड १९ दशमलव ३ लिटर पानीको प्रभाव गर्ने सय हर्ज पावरको २ वटा र ८५ हर्ज पावरको ४ वटा पम्प आयोजनामा जडान भएको छ । आयोजनाको १ वर्ष निर्माण कम्पनीले संचालन र मर्मतसंभार गर्नुपर्नेछ ।
आयोजनाबाट पानी प्रशोधन केन्द्र एक, २ सय ५० घनमिटरको ट्याङ्की एक, ७५ हजार लिटरको ट्याङ्की ५ वटा र ५० हजार लिटरको ट्याङ्की २ वटा निर्माण भएका छन् । खानेपानी संचालनका लागि ११ हजार भोल्टेजको ३४ किलोमिटर विद्युत प्रशारण लाइन, पम्प हाउस ३ वटा, कार्यालय भवन एक र ब्रेक प्रेसर ट्याङ्की ५७ वटा निर्माण भएका छन् ।