क्यानडाको आमचुनावमा लिबरल पार्टीले जीत हासिल गरेको छ । प्रधानमन्त्री मार्क कार्नीको लिबरल पार्टीले एक सय ६७ सिट जितेर सत्ता कायम राखेको तर बहुमतबाट भने चुकेको बीबीसीले जनाएको छ ।
३ सय ४३ सिट रहेको हाउस अफ कमन्स चेम्बरमा बहुमतका लागि एक सय ७२ सिट आवश्यक पर्छ । लिबरलहरूले सन् २०१५ मा बहुमत प्राप्त गरेपनि सन् २०१९ देखि अल्पसङ्ख्यकसँग मिलेर शासन गर्दै आएका छन् । यस्तै कन्जरभेटिभ पार्टीले एक सय ४५ सिट जितेको छ ।
यो जितपछि कार्नीले आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गर्नुभएको खबरमा उल्लेख छ । उहाँले राष्ट्रपति ट्रम्पले क्यानडालाई तोड्न खोजेको र त्यो कहिल्यै पूरा नहुने बताउनुभयो ।
प्रधानमन्त्री कार्नीले अमेरिकासँगको आफूहरूको पुरानो सम्बन्ध अब समाप्त भएको पनि बताउनुभएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानडालाई व्यापार युद्धको धम्की निरन्तर दिइरहनुभएको छ र क्यानडालाई अमेरिकाको ५१औं राज्य बनाउने कुरा पनि गर्नुभएको छ ।