इलामको सूर्योदय नगरपालिका वडा ४, ५ र ६ को संगमस्थल महेन्द्रबेंसीलाई धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्न स्थानीय जुटेका छन् ।
सिद्धिखोला, कन्याम र अन्तुखोलाको त्रिवेणीसमेत रहेको यो स्थानलाई हिन्दू, बौद्ध र किरातलगायत धर्मावलम्बीको धार्मिक क्षेत्रका रूपमा संरक्षण गर्न तीनवटै वडाका बासिन्दाले सामूहिक प्रयास थालेका हुन् । वरिपरि वनजंगल र जैविक विविधताले भरिपूर्ण यो स्थानको सौन्दर्यलाई धेरैभन्दा धेरै पर्यटकसामु चिनाउन आफूहरू लागिपरेको उनीहरूले जनाएका छन् ।
यहाँको प्रचार गरी पर्यटकीय पूर्वाधार विकासबारे सम्बन्धित पक्षको ध्यानाकर्षणसमेत गर्न बहुधार्मिक, बहुसांस्कृतिक पूजापाठसमेत आयोजना गरिएको छ । मंगलबार तीनै वडाका सयौं बासिन्दा यहाँ भेला भइ पूजापाठ र औपचारिक कार्यक्रमसमेत सम्पन्न गरेका छन् । त्यस अवसरमा यहाँ हिन्दू, किरात, बौद्ध र प्रेमवाद धर्मावलम्बीले एकसाथ पूजा र प्रार्थना गरेका छन् ।
‘धार्मिक, ऐतिहासिक भूमिलाई चिनाउने अभियान, सबै धर्मको सम्मान’ नारासहित महेन्द्रबेंसी दुर्गाघाट सर्वधर्म त्रिवेणी धाम समितिले आयोजना गरेको कार्यक्रममा वडा ४ अध्यक्ष शरण राई, वडा ५ अध्यक्ष उर्गेन बम्जन र वडा ६ अध्यक्ष शिव बस्नेतसमेत सहभागी भए ।
वडाध्यक्षहरूले यस क्षेत्रलाई धार्मिक, ऐतिहासिक र पर्यटकीयस्थलका रूपमा विकास गर्न वडा र स्थानीय सरकारले सघाउने प्रतिबद्धता गरे । वडाध्यक्षत्रयले त्रिवेणीमा पक्की पुल निर्माण, वारिपारिको सडक स्तरोन्नति र अन्य आवश्यक पूर्वाधार निर्माण गर्न आफूहरूले आउँदो आर्थिक वर्षदेखि नै पहल गर्ने बताएका थिए । पर्यटकीय क्षेत्र विकासका लागि सडक, पुल, धार्मिकस्थल, धारो, पार्क, चर्पीलगायत आवश्यक पर्ने भएकाले ती संरचना निर्माणमा आफूहरू संयुक्त रूपमा योजना बनाएर अघि बढ्ने वडाध्यक्षहरूको प्रतिबद्धता थियो ।
आयोजक समिति अध्यक्ष तिलक राईको अध्यक्षतामा भएको कार्यक्रममा सम्बन्धित वडाका सदस्यहरू, स्थानीय अगुवा, समाजसेवीहरू, नेपाल पत्रकार महासंघ, इलाम शाखा अध्यक्ष भीम चापागाईं, सदस्य खेमराज ढकाललगायतको सहभागिता थियो ।
स्थानीय अगुवा चक्रपाणि घिमिरेले २०१८ सालमा यहाँ सप्ताह ज्ञानमहायज्ञ आयोजना गरिएको बताए । उनका अनुसार २०२२ सालमा पनि यहाँ पुराण आयोजना गरिएको थियो ।
स्थानीय लामा तिलविक्रम राईले यो ठाउँलाई बहुधार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्न सकिने प्रबल सम्भावना रहेको औंल्याए । वडा ६ का यामबहादुर राईले विशेषगरी हिन्दु, बौद्ध र किरात धर्मावलम्बीले यो स्थानलाई पवित्र रूपमा मानेर पूूजापाठ गरेको सुनाए ।
स्थानीय डिल्ली गजुरेल, युवराज पोख्रेल, दिनेश राई र प्रेमचन्द्र गजुरेललगायतले यहाँको धार्मिक पर्यटन सम्भावनाबारे जानकारी गराए ।
स्थानीय कृष्ण घिमिरेले त्रिवेणीमा पुल नहुँदा बर्खाभर वारिपारिका दुई गाउँको आउ–जाउ बन्द हुनेगरेको गुनासो गरे ।
घिमिरेमात्र होइन, स्थानीय धेरैले यहाँ पुल र वारिपारिको सडक सुविधा नहुँदा सास्ती खेप्न बाध्य भएको सुनाए । उनीहरूले हर्कटेबाट यो ठाउँ भएर अन्तुडाँडा जाने सडक र पुल व्यवस्थित बने अहिले तराईका बासिन्दाको अन्तुडाँडा जाने बाटो निकै छोटो पर्ने पनि बताए ।
त्यस अवसरमा धार्मिक पर्यटकीयस्थललाई जग्गादान गर्ने स्थानीय तीन जनालाई सम्मानसमेत गरियो ।