कन्याममा प्रदेशस्तरीय तस्बिर प्रदर्शनी

फोटोफिचर समाचार

इलामको प्रमुख पर्यटकीय गन्तव्य कन्याममा कोशी प्रदेश स्तरीय तस्बिर प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न भएको छ । कोशी प्रदेशभित्रका पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा कोशी प्रदेशभित्रका ६० उत्कृष्ट तस्बिरहरू छनोट गरी प्रदर्शनीमा राखिएको थियो ।

प्रदर्शनीमा राखिएका ६० तस्बिरमध्ये फोटोपत्रकार एपी तोलाङको तिङबुङ पोखरीको फोटो प्रथम भएको छ । प्रतियोगितामा बसन्त लिम्बू दोस्रो, डेविड ओझा तेस्रो, निसान्त राना चौथो तथा मनोज बस्नेत पाँचौं स्थानमा पर्नुभएको छ । कार्यक्रममा उत्कृष्ट पाँच फोटोग्राफर(फोटो पत्रकारलाई क्रमशः नगद २५ हजार, २० हजार, १५ हजार, १० हजार र ५ हजार रुपियाँ सहित प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा कोशी प्रदेशका वन तथा पर्यटन मन्त्री सदानन्द मण्डलले उक्त प्रतियोगिताले कोशी प्रदेशको पर्यटन प्रवर्धनमा सहयोग पुग्ने बताउनुभयो ।

कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत पर्यटन कार्यालय काँकरभिट्टाको आयोजनामा तथा नेपाल फोटोपत्रकार महासङ्घ कोशी प्रदेशको संयोजनमा कार्यक्रम सम्पन्न भएको हो। प्रतियोगितामा प्राप्त २०८ तस्बिर मध्ये ६० उत्कृष्ट फोटो छनोट गरी प्रदर्शनीमा राखिएको कार्यक्रम संयोजक तथा फोटोपत्रकार महासङ्घ कोशी प्रदेशका उपाध्यक्ष विनाद पाण्डेले जानकारी दिनुभयो । उक्त प्रतियोगितामा निर्णायक समितिको संयोजकको रूपमा पत्रकार गिरीराज बास्कोटा रहनु भएको थियो ।

सदस्यमा वरिष्ठ फोटोग्राफर विश्व ताम्रकार र चित्रकला प्रशिक्षक छेतेन शेर्पा रहनुभएको थियो । कोशी प्रदेश पर्यटन वर्ष २०८२ का सहसंयोजक कृष्ण शाहको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडाले कोशी प्रदेशकै पर्यटकीय स्थलको प्रचार प्रसार र भ्रमण वर्ष २०८२ लाई सहयोग पुर्‍याउन कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।

कार्यक्रममा कोशी प्रदेश सांसद समशेर राई, सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राई, इलाम उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष दिव्या भट्टराई, र होटल व्यवसायी सङ्घ इलामका अध्यक्ष देवी पौडेल गायतको सहभागीता रहेको थियो । प्रदर्शनी स्थलमा ४ सय भन्दा धेरै अवलोकन कर्ताको उपस्थिती रहेको आयोजकले जनाएको छ ।

Share this: