इलामको रोङ गाउँपालिकामा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

समाचार

मेची राजमार्गअन्तर्गत इलामको रोङ गाउँपालिकामा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

शनिबार अपराह्न करिब ४ बजेतिर रोङ गाउँपालिका–३ पाथलेडाँडामा भएको उक्त दुर्घटनामा मोटरसाइकल चालक बझाङको बित्छडचिर गाउँपालिका–१ का अन्दाजी २६ वर्षीय मदनबहादुर बोहरा र पछाडि सवार जाजरकोट छेडागाड नगरपालिका–८ की अन्दाजी २३ वर्षीया सिर्जना गिरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

झापाबाट इलामतर्फ गइरहेको प्रदेश १–०१–००१ ख ४५४७ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको बा ८९ प २२६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनापछि गम्भीर घाइते दुवै जनालाई उपचारका लागि झापास्थित बिएन्डसी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनापछि ट्रक चालक पाँचथरको कुमायक गाउँपालिका–९ का अन्दाजी ३३ वर्षीय नितेश बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी मानबहादुर राईले जानकारी दिनुभयो।

Share this: