ताप्लेजुङको सिदिङबा गाउँपालिका–५, आङखोपमा पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ।
स्थानीय हस्त बहादुर कटुवालको घरमा गएको पहिरोले उनकी ५० वर्षीया श्रीमती ठगमाया कटुवाललाई गम्भीर घाइते बनाएको हो। अन्य चार जना—हस्त बहादुर कटुवाल स्वयं, उनका छोरा जगत कटुवाल, बुहारी सरस्वती कटुवाल र छोरी सम्झना कटुवाल सामान्य घाइते भएका छन्।
स्थानीय वडाध्यक्ष रत्न बहादुर खत्रीका अनुसार आइतबार राति करिब १ बजे घरमाथिको खेतमा सिँचाइको कुलो थुनिएर पानी पस्दा आएको पहिरोले घर पुरिएको थियो। पहिरोले घर पुरिएपछि छेउको मतानमा सुतेका छोराबुहारीले आमाबुवाको उद्धार गरेका थिए।
गम्भीर घाइते ठगमायाको उपचारका लागि एम्बुलेन्स झिकाइएको भए पनि घटना भएको सात घण्टा बितिसक्दा समेत उनी उद्धार हुन नसकेको स्थानीय मौसम सेलिङ लिम्बूले जानकारी दिनुभयो। उहाँका अनुसार सिदिङबा गाउँपालिकाको केन्द्र साब्लाखुबाट झिकाइएको एम्बुलेन्स हालसम्म घटनास्थल नपुगेको हो।
हाल घटनास्थलमा साब्लाखु प्रहरी चौकीको टोली पुगेर अनुसन्धान र क्षतिको विवरण सङ्कलन गरिरहेको छ।