सूर्योदय नगरपालिकाद्वारा बृक्षारोपण अभियान सुरु, यस वर्ष ५० हजार बिरुवा रोप्ने लक्ष्य

समाचार

पर्यावरण संरक्षण र हरित नगर निर्माणको अभियानलाई अघि बढाउँदै इलामको सूर्योदय नगरपालिकाले यस वर्षको बृक्षारोपण कार्यक्रम सुरु गरेको छ। नगरपालिकाले बुधबार सूर्योदय–१० स्थित फेन्सोङ गुम्बा परिसरमा बृक्षारोपण गरी अभियानको औपचारिक सुरुवात गरेको हो।

नगर प्रमुख रणबहादुर राई र उपप्रमुख दुर्गा कुमार बरालले बिरुवा रोप्दै अभियानको थालनी गर्नुभएको कार्यक्रममा वडाध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी, संचारकर्मी लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

नगरपालिकाले सल्ला, अम्बक, कटहर, बडर, लिची लगायतका फलफूल र डालेघाँसका बिरुवा निजी र सार्वजनिक जमिनमा रोप्नका लागि १४ वटै वडामा निःशुल्क वितरण गरिने जनाएको छ। वन, वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख ईश्वरी अधिकारीका अनुसार बिरुवाहरू विभिन्न ठाउँबाट खरिद गरिएका हुन्।

विरु रोपण थालनी गर्दै नगर प्रमुख राईले यस वर्ष कम्तीमा ५० हजारबिरुवा रोप्ने लक्ष्य रहेको जान्कारी दिनुभयो । उहाँले प्रत्येक जनप्रतिनिधिले आफ्नो वडामा तीन दिनसम्म सक्रिय सहभागी भई अभियानलाई सशक्त बनाउने बताउनुभयो ।

नगरपालिकाले अघिल्ला वर्षहरूमा पनि २५ हजार बढी बिरुवा रोपे पनि संरक्षणको अभावले प्रभावकारी परिणाम आउन नसकेको अनुभवलाई मध्यनजर गर्दै यस पटक निगरानी र संरक्षणमा विशेष ध्यान दिइने जनाएको छ।

हरियाली अभियानलाई समुदायसँग जोड्दै नगरपालिकाले बृक्षारोपणमा स्थानीय सहभागिता बढाउन टोल विकास संस्था, विद्यालय र सामाजिक संघसंस्थालाई समेत अनुरोध गरेको नगर उप प्रमुख दुर्गा कुमार बरालले बताउनुभयो । बृक्षारोपणमार्फत वातावरणीय सन्तुलन, जैविक विविधताको संरक्षण पिउने पानीको सुद्धता र भावी पुस्तालाई स्वच्छ वातावरण हस्तान्तरण गर्ने उद्देश्य राखिएको छ।

Share this: