प्रवीन विसी :_ सूर्योदय, इलाम
इलामको सूर्योदय नगरपालिका–१३ लक्ष्मिपुर स्थित ज्योति माध्यमिक विद्यालयले कक्षा ८ र १० को वार्षिक नतिजा प्रकाशनसँगै शैक्षिक सुधारका लागि सरोकारवालाहरूसँग बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
विद्यालय शिक्षा सङ्घका अध्यक्ष सोमनाथ कट्टेलको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर प्रमुख रनबहादुर राई प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा वडा अध्यक्ष हेमराज आचार्य, शिक्षा युवा तथा खेलकुद शाखाका अधिकृत नवीनराज पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर राई, अभिभावक, शिक्षक, विद्यार्थी लगायतको उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रममा यस वर्षको एसईई तथा नगरस्तरीय परीक्षामा उत्कृष्ट नतिजा लागि शिक्षकहरुले खेल्नुभएको भुमिकाको कदर गर्दै शिक्षकहरूलाई प्रशंसापत्र र रातो अबिरले सम्मान गरिएको थियो। सम्मानित हुनेमा माधव भट्टराई, लक्ष्मी कट्टेल, पदम थापा, टिकादेवी भट्टराई र विराज परियार रहनुभएको छ।
शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विद्यालय प्रशासन, शिक्षक, अभिभावक र शिक्षा शाखाबीच चारपक्षीय करार सम्झौता समेत गरिएको छ। प्रधानाध्यापक दीपक पौडेलका अनुसार उक्त सम्झौताले सबै पक्षलाई विद्यार्थीको सिकाइमा जिम्मेवार बनाउनेछ।
कार्यक्रममा पूर्व प्रधानाध्यापक तारा कट्टेलले स्वागत मन्तव्य राखेका थिए भने प्रधानाध्यापक पौडेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पारे। शिक्षक विराज परियारले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।