गोबिन्द पौडेल :- रोङ
रोङ गाउँपालिका–६ रम्भ्याङस्थित स्कुलडाँडा देखि आलेढुङ्गासम्मको करिब तीन सय मिटरको गोरेटो बाटो अब मोटरेबल बनेको छ। विगतमा विद्यालय, स्वास्थ्य चौकी, र वस्ती पुग्न लामो घुमाउरो बाटो हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
२०२८ सालमा नापीमा परेको भए पनि उक्त सडकले अहिलेसम्म विकासको मुहार देख्न पाएको थिएन। बिगतमा यो बाटो तत्कालीन जिर्मले–५ मा पर्ने सरस्वती मावि हुँदै आलेढुङ्गा जोड्ने मुख्य पैदल मार्गका रूपमा प्रयोगमा थियो। नक्शालवाडि र बाहुण्डागी जाँदा बोकुवा यात्रुहरू यही बाटो प्रयोग गर्थे।
तर, स्थानीय बासिन्दाको घर र वस्ती भएकै कारण बाटो विस्तार असम्भवजस्तै भएको थियो। वडाहरूबीच जोड्ने यो ऐतिहासिक मार्गलाई पछिल्लो समय विद्यालय जाने विद्यार्थी, स्वास्थ्य चौकी पुग्ने बिरामी तथा बटुवाहरूले दैनिक रूपमा प्रयोग गर्दै आएका थिए।
स्थानीयवासीको लामो समयदेखि रहेको माग र अनुरोधपछि रोङ गाउँपालिकाले आफ्नै उपकरण प्रयोग गरी यो बाटोलाई मोटरेबल बनाएको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्वोले जानकारी दिए। सडक निर्माणको काम गाउँपालिकाको पहल र न्यून लागतमा सम्पन्न भएको हो।
८४ वर्षीय स्थानीयवासी सेरबहादुर घिमिरेले यसबाट गहिरो सन्तोष व्यक्त गर्दै भने, “तीन सय मिटरको बाटो बनाउन दशकौं किन ढिलो गरियो होला भन्ने लाग्छ। विगतमा स्कुलडाँडा पुग्न फागुने हुँदै करिब एक किलोमिटर घुम्नुपर्थ्यो, अहिले सिधै पुगिन्छ।”
स्थानीय रञ्जित साम्पाङका अनुसार, “डाँडामा रहेको घरमा जानका लागि दिनरात टार्च बालेर हिँड्नुपर्ने बाध्यता थियो। अब भने सहज भएको छ।”
सडक निर्माणको योजना गाउँ नजिकैको स्वास्थ्य चौकीमा कार्यक्रमका क्रममा देखा परेका समस्या र स्थानीयको छलफलपछि बनेको हो। स्याङ्वोका अनुसार, साना तर महत्त्वपूर्ण यस्ता कामहरूमा ध्यान दिन सके विकास प्रत्यक्ष अनुभव गर्न सकिन्छ।