कवि दिपेन्द्र आचार्यको कविता संग्रह ‘व्यापार पृथिवी’ शनिबार फिक्कलमा लोकार्पण गरिएको छ। सुर्योदय नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि साहित्यकार कृष्ण बरालले पुस्तक सार्वजनिक गर्नुभयो। बराल आधा दर्जनभन्दा बढी पुस्तकका लेखक तथा लिला लेखनका अभियन्ता समेत हुनुहुन्छ।
कार्यक्रमको अध्यक्षता सुर्योदय गजल मञ्चका अध्यक्ष योगनिधि भट्टराईले गर्नुभएको थियो। कार्यक्रममा बोल्दै साहित्यकार प्रकाश थाम्सुहाङले “भानुभक्त आचार्यपछि अर्को आचार्य कवि भेटिएको छ” भन्दै कवि आचार्यको साहित्यिक योगदानको प्रशंसा गर्नुभयो।
धरानका ख्यातिप्राप्त कवि चन्द्र गुरुङले कविता संग्रहमाथि विस्तृत चर्चा गर्दै आचार्यलाई सशक्त कविका रूपमा प्रस्तुत गर्नुभयो। त्यस्तै, भारत मिरिककी साहित्यकार डा। कमला तामाङले संग्रहमा समावेश कविताहरूको भाषिक शुद्धता, लेखन शैली र चेतनास्तरको खुलेर प्रशंसा गर्दै लेखकलाई बधाई ज्ञापन गर्नुभयो।
कार्यक्रममा सुर्योदय नगरपालिका–२ का वडा अध्यक्ष डिक बम्जन, साहित्यकार देवी प्रसाद गौतम, समालोचक केपी ढकाल, नगर पूर्व उपप्रमुख तथा साहित्यकार दुर्गा देवी भट्टराई, समाजसेवी निर्मला कट्टेल अग्रवाल, कवि डिल्लि सवेदी, युवा कवि अन्वेष थुलुङ, गजलकार दर्शन सरकार, झापाका कवि अभागी थेगुवा, कवि लिला अनमोल, गणेश निरौला, भारत मिरिकका साहित्यकार, इलामका विभिन्न स्थानका कवि, समालोचक, गजलकार तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।