कञ्चनजंघाको चेराम क्षेत्रमा तीनवटा नयाँ ताल फेला

पर्यटन

कञ्चनजंघा क्षेत्रमा पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले काम गरिरहेको ‘ट्रेक ८५८६’ का सञ्चालक अमिर राई र मनोज बस्नेतले चेराम क्षेत्रमा तीनवटा ताल फेला पारेका छन् । उनीहरूले विश्वको तेश्रो अग्लो हिमाल कञ्चनजंघाको दक्षिणी वेश क्याम्पमा पुगेका पर्यटकका लागि यो नयाँ र आकर्षक गन्तव्य हुनसक्ने दाबी गरे ।

सन् २०२५ को प्रारम्भ ९जनवरी ३० मा यो क्षेत्रको भ्रमणमा गएका उनीहरूले गुगल म्यापको आधारमा चेरामबाट साढे तीन घण्टाको पैदलमा यी तालहरू भेटाएको र योभन्दा अघि यी तालहरू रेकर्डमा नरहेको दाबी गरे । पुरै जमेको र उपकरण अभावले तालको क्षेत्रफल यकिन गर्न नसकिएको उनीहरूको भनाइ छ । तर उनीहरूले ती तालको तस्विर भने सार्वजनिक गरेका छन् । यी ताल पाँच हजार मिटर माथि छन् ।

‘गत ज्येष्ठ महिनामा कावेली नदीमा बाढी आएको थियो, यहाँको एउटा ताल माथिबाट आएको पहिरोले त्यहीबेला फुटाएको जस्तो देखिन्छ,’ राईले भने, ‘एउटा ताल फुटेर दुईवटा भएछ, अर्को ठुलो छ ।’ ४ हजार १ सय मिटर उचाइबाट सुरु हुने यालुङ नदी कावेली नदीमा मिसिन्छ । यी तालको नाम नभएकाले ठुलोको आफूहरूकै कम्पनी ‘ट्रेक ८५८६’ र फुटेर बनेको आशङ्का गरिएको दुई तालको ‘दाजुभाइ ताल’ नामाकरण गरेको राईले बताए ।

बस्नेत र आफू कम्पनीको दाजुभाइ भएर काम गरेको र दाजुभाइले पत्ता लगाएको अर्थमा दाजुभाइ नामाकरण गरेको उनको दाबी छ । कञ्चनजंघा हिमाल आरोहण तथा भ्रमणमा जानेहरू चेराममा बस्ने गरेका छन् । चेराम ३ हजार ८ सय ७० मिटर उचाइमा छ । यहाँ बस्ने पर्यटकलाई नजिकको गन्तव्यमा पुर्‍याउने उद्देश्यले तालको खोजी गरेको राई बताउँछन् । दुवै स्थानका ताल हेर्नका लागि आकर्षक भएकाले त्यहाँ पुग्ने विदेशीलाई लैजान सकिने तर पैदलमार्ग भने बनाउनुपर्ने उनको भनाइ छ ।

खबर स्रोत :इकान्तिपुर

Share this: