डायमण्ड तिम्सिना : रोङ ,इलाम
रोङ गाउँपालिका–३ निवासी समाजसेवी इन्द्रलाल निरौला दाम्पत्यले आफ्ना दिवंगत पिताको स्मृतिमा विद्यार्थीलाई शैक्षिक तथा स्टेसनरी सामग्री सहयोग गरेका छन्।
निरौला दाम्पत्यले पिताको वार्षिक तिथिको अवसर पारेर विगतदेखि नै विभिन्न विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गर्दै आएका छन्। सोही परम्परालाई निरन्तरता दिँदै यस वर्ष रोङ गाउँपालिका–४ स्थित श्री सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई आवश्यक शैक्षिक तथा स्टेसनरी सामग्री वितरण गरिएको हो।
दिवंगत पिताको स्मृतिलाई सामाजिक सेवासँग जोड्दै विद्यार्थीको अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले सामग्री वितरण गरिएको निरौलाले बताए। आर्थिक अवस्था कमजोर भएका तथा आवश्यक शैक्षिक सामग्रीको अभावमा अध्ययन गरिरहेका विद्यार्थीलाई सहयोग पुग्ने विश्वास गरिएको छ।

वार्षिक रूपमा गरिने पितृसम्बन्धी कर्मलाई सामाजिक उत्तरदायित्वसँग जोडेर विद्यार्थीको शैक्षिक यात्रामा सहयोग गर्ने निरौला दाम्पत्यको प्रयासलाई विद्यालय परिवार तथा स्थानीय समुदायले सकारात्मक रूपमा लिएका छन्।
पितृप्रतिको श्रद्धालाई सामाजिक सेवामा रूपान्तरण गर्दै ‘स्मृतिमा सेवा, सेवामा संस्कार’ भन्ने भावनाका साथ गरिएको सहयोगले सामाजिक सेवाको सकारात्मक सन्देश दिएको छ।
