इलामको सूर्योदय नगरपालिकामा ११औँ संविधान दिवसको अवसरमा विद्यार्थीको दौड प्रतियोगिता सम्पन्न भएको छ। संविधान दिवसका अवसरमा आयोजित प्रतियोगितामा सूर्योदय नगरपालिकाभित्रका माध्यमिक विद्यालयका १२० जना विद्यार्थीले छात्र तथा छात्रातर्फ सहभागिता जनाएका थिए।
कन्यामबाट सुरु भएको दौड फिक्कलस्थित फेन्सोङ गुम्बा परिसरमा पुगेर सम्पन्न भएको थियो। प्रतियोगिताको छात्रतर्फ समालबुङ माध्यमिक विद्यालयका रिवस पौडेल प्रथम भएका छन। उनले नगद ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन। अमर कल्याण माध्यमिक विद्यालयका सिमन पाण्डे द्वितीय हुँदै ३ हजार रुपैयाँ प्राप्त गर्दा फिक्कल माध्यमिक विद्यालयका स्वरूप तामाङ तृतीय बनेका छन। उनले पनि २ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। यस्तै, बौद्धधाम माध्यमिक विद्यालयका साहिल मुखिया सान्त्वना हुँदै १ हजार रुपैयाँ प्राप्त गरे।
छात्रातर्फ फिक्कल माध्यमिक विद्यालयकी एन्जिला राई प्रथम भएकी छन। उनले नगद ४ हजार रुपैयाँ प्राप्त गरेकी छन। हिमालय माध्यमिक विद्यालय, गोर्खेकी मिनिता राई द्वितीय हुँदै ३ हजार रुपैयाँ, एभरल्याण्ड इन्टरनेसनल एकेडेमीकी सुजी राई तृतीय हुँदै २ हजार रुपैयाँ तथा सरस्वती माध्यमिक विद्यालयकी रेजिना राई सान्त्वना हुँदै १ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन्।
दौड प्रतियोगितापछि फेन्सोङ गुम्बा परिसरमा पुरस्कार वितरण कार्यक्रम आयोजना गरिएको थियो। नगर खेलकुद विकास समितिका अध्यक्ष मणि गुरुङको अध्यक्षता तथा सूर्योदय नगरपालिकाका कार्यवाहक नगरप्रमुख दुर्गाकुमार बरालको प्रमुख आतिथ्यतामा विजेता खेलाडीलाई पुरस्कार वितरण गरिएको हो।
संविधान दिवसका अवसरमा आयोजना गरिएको प्रतियोगिताले विद्यार्थी तथा युवामा खेलकुदप्रतिको रुचि बढाउनुका साथै स्वस्थ जीवनशैली, अनुशासन र प्रतिस्पर्धात्मक भावनाको विकासमा सहयोग पुग्ने नगर प्रमुख बरालले बताउनुभयो।
