रोङमा ९ सदस्यीय टीबी च्याम्पियन क्लब गठन

समाचार

इलामको रोङ गाउँपालिकामा क्षयरोग नियन्त्रण तथा न्यूनीकरणका लागि ९ सदस्यीय टीबी च्याम्पियन क्लब गठन गरिएको छ।

नेपाल सरकार, ग्लोबल फण्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) बीचको त्रिपक्षीय सहकार्य तथा बागमती सेवा समाज नेपालद्वारा सञ्चालित राष्ट्रिय क्षयरोग परियोजनाअन्तर्गत क्लब गठन गरिएको हो।

रोङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख युवराज काफ्लेको उपस्थितिमा वडा नं. ३ स्थित कोल्बुङ स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा क्षयरोगबाट संक्रमित भई नियमित उपचार तथा औषधि सेवनपछि पूर्ण रूपमा निको भएका व्यक्ति, स्वास्थ्यकर्मी तथा स्थानीय सरोकारवालाको सहभागिता थियो।

कार्यक्रममा क्षयरोगको पहिचान, उपचार, रोकथाम तथा समुदायस्तरमा जनचेतना अभिवृद्धिका विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो। क्षयरोगबाट निको भएका तथा समुदायमा सक्रिय भूमिका निर्वाह गर्न सक्ने व्यक्तिहरूलाई समेटेर ९ सदस्यीय टीबी च्याम्पियन क्लब गठन गरिएको हो।

क्लबले समुदायमा क्षयरोगका सम्भावित लक्षण भएका व्यक्तिको पहिचानमा सहयोग गर्ने, क्षयरोगसम्बन्धी सही जानकारी तथा परामर्श प्रदान गर्ने र शंकास्पद व्यक्तिलाई समयमै स्वास्थ्य संस्थासम्म पुर्‍याउन सहजीकरण गर्नेछ।

त्यस्तै, क्लबका सदस्यहरूले क्षयरोगसम्बन्धी गलत धारणा तथा सामाजिक विभेद न्यूनीकरणका लागि समुदायमा जनचेतनामूलक गतिविधि सञ्चालन गर्नेछन्। उपचारमा रहेका बिरामीलाई नियमित औषधि सेवन तथा उपचार निरन्तरताका लागि प्रोत्साहन गर्ने जिम्मेवारीसमेत क्लबले निर्वाह गर्नेछ।

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख काफ्लेले रोङ गाउँपालिकालाई क्षयरोगमुक्त गाउँपालिका बनाउन टीबी च्याम्पियन क्लबको गठनले महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो।

कार्यक्रममा स्वास्थ्य शाखाका प्रतिनिधि, बागमती सेवा समाज इलामका कोर्डिनेटर, विद्यालयका प्रतिनिधि, स्वास्थ्यकर्मी, सञ्चारकर्मी तथा स्वास्थ्य स्वयंसेविकाहरूको उपस्थिति थियो।

बागमती सेवा समाज नेपालले राष्ट्रिय क्षयरोग कार्यक्रमसँगको समन्वयमा समुदायस्तरमा क्षयरोग पहिचान, सम्पर्क परीक्षण, उपचारमा पहुँच तथा जनचेतना अभिवृद्धिलगायतका गतिविधि सञ्चालन गर्दै आएको छ।

Share this: