सूर्योदय जेसीज वर्ष २०२६ र वाइज इन्टरनेसनल फिक्कल कन्सल्टेन्सीको सहकार्यमा युवाहरूलाई सूचना–प्रविधिसम्बन्धी सीप प्रदान गर्ने उद्देश्यले ९० दिने बेसिक तथा एड्भान्स कम्प्युटर तालिम मङ्गलबारदेखि फिक्कलमा सुरु भएको छ।
९० दिनसम्म सञ्चालन हुने तालिममा ४५ जना प्रशिक्षणार्थी सहभागी रहेका छन्। सहभागीलाई कम्प्युटरसम्बन्धी आधारभूतदेखि उन्नत तहसम्मका सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिने आयोजकले जनाएको छ।

तालिम उद्घाटन कार्यक्रममा वाइज इन्टरनेसनल फिक्कल कन्सल्टेन्सीका निर्देशक रुद्र कार्कीको सभापतित्व तथा सूर्योदय जेसीज वर्ष २०२६ का अध्यक्ष बिबेश अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रमको सञ्चालन उपाध्यक्ष जेसी अजित गुरुङले गर्नुभएको थियो भने स्वागत मन्तव्य जेसी अनिल राईले व्यक्त गर्नुभएको थियो।
सूर्योदय जेसीजका प्रकरण निर्देशक जेसी एलिस खड्काले यस्ता सीपमूलक तालिमले युवाहरूलाई दक्ष, आत्मनिर्भर र प्रतिस्पर्धी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
आयोजकका अनुसार तालिमले स्थानीय युवाहरूको सूचना–प्रविधि सम्बन्धी क्षमता अभिवृद्धि गर्नुका साथै रोजगारी, स्वरोजगार, नेतृत्व तथा व्यक्तित्व विकासमा समेत सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।
