इलामको माईजोगमाई गाउँपालिका नयाँबजारमा रहेको अमर कल्याण नमुना माविमा निर्माण गरिएको सभाहलको बुधबार उद्धघाटन गरिएको छ । गत आर्थिक वर्ष २०७६ र ०७७ बाट निर्माण सुरू भएको भवन माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवे र उपाध्यक्ष प्रविना राईले उद्घाटन गर्नुभएको हो।
माईजोगमाई गाउँपालिकाको कुल लागत ३५ लाख र विद्यालयको स्रोत बाट ३ लाख २३ हजार ९ सय ७५ रूपैया १२ पैसा गरी ३८ लाख २३ हजार ९ सय ७५ रूपैया १२ पैसामा निर्माण गरिएको सभाहलमा ३ सय जना मानिस अटाउन सकिने छ ।
गाउँपालिकाको केन्द्र समेत रहेको नयाँबजारमा विभिन्न कार्यक्रमहरू गर्नमा हल सहज हुने विश्वास समेत पलिकाले लिएको छ। सभाहलमा कुर्सी ,सोफासेट , साउण्ड सेट , लगायतको व्यवस्था समेत गरिएको छ ।
कार्यक्रमको अवसरमा माईजोगमाई गाउँपालिका स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सफल हुने विद्यार्थीहरूलाई सम्मान समेत गरिएको थियो । विद्यालयमा स्थापना भएको बेममाया स्मृति अक्षयकोषबाट विद्यालयका विद्यार्थीहरू अजयदेव फागो र शर्मिला गुरूङलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।
अमर कल्याण नमुना माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष याम कुमार कार्कीको अध्यक्षता तथा माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको प्रमुख आतिथ्यता, उपाध्यक्ष प्रविना राईको विशेष आतिथ्यतामा कार्यक्रम भएको थियो । सभाहल उद्घानका अवसरमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू , विद्यालयका अभिभावक, शिक्षक, विद्यार्थी, समाजसेवी, विभिन्न राजनैतिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।