अन्तु : विवेक शर्मा लामिछाने
इलामको सूर्योदय नगरपालिका वडा नम्बर ४ श्रीअन्तु तकपत स्थित विन्ध्यावासिनी मन्दिर परिसरमा माघ २१ गते देखि श्रीमद भागवत तथा दोमाङ पाठ हुने भएको छ ।
मन्दिरको भौतिक विकास तथा धार्मिक पर्यटकीय क्षेत्रको रुपमा प्रर्वधन गर्ने उद्देश्यले श्रीमद्भागवत सप्ताह महान ज्ञान यज्ञ तथा दोमाङ पाठको आयोजना गरिएको आयेजक समितिका सदस्य तथा मन्दिर व्यवस्थापन समिति अध्यक्ष गोकर्णप्रसाद रिजाले बताउनुभयो । उहाँले माघ २१ गते लामा गुरुहरूबाट दोमाङ पाठ गरेर सुरु गरिने र २२ गते कलश यात्रासहित श्रीमद्भागवत सप्ताह महान ज्ञान यज्ञ प्रवचन हुने जानकारी दिनुभयो ।
पुराणमा अन्तर्राष्ट्रिय ख्याति प्राप्त कथावाचक पण्डित मुक्तिनाथ सुवेदीले कथा प्रवचन गर्नुहुने छ । आठ दिनसम्म सञ्चालन हुने संगितमय महायज्ञमा भजन किर्तन झाँकीसहित विभिन्न कार्यक्रमहरु रहनेछन् । २६ गते शनिबारका दिन मेची नेत्रालय काँकरभिट्टाको प्राविधिक सहयोगमा एक दिने निःशुल्क आँखा शिविर समेत सञ्चालन हुनेछ । सामान्य आँखा सम्बन्धि समस्या भएका व्यक्तिहरुलाई औषधि तथा विरामीहरूलाई चस्मा समेत उपलब्ध गराइने रिजालले बताउनुभयो ।
कार्यक्रम माघ २८ गते पूर्णाहुती सहित लामा गुरुहरूबाट वाङ वितरणपछि समापन हुनेछ । हाल समितिले प्रचारप्रसारको काम र पण्डाल निर्माणको काम गरिरहेको प्रचारप्रसार समितिका संयोजक ओमकार शर्माले जानकारी दिनुभयो।