झापाको बिर्तामोड नगरपालिकाले स्थानीय क्षेत्रमा उत्पादित १६ प्रकारका तरकारीको न्यूनतम समर्थन मूल्य कायम गरेको छ ।
नगरपालिकाका उपमेयर नगेन्द्र सङ्ग्रौलाका अनुसार यसलाई कार्यान्वयन गराउन तीन दिनअघि कार्यपालिकाको बैठकले न्यूनतम समर्थन मूल्य अनुदान भुक्तानी कार्यविधि २०८१ समेत पारित गरेको छ ।
नगर क्षेत्रका किसानले उत्पादन गरेको तरकारी बिक्रीलाई सहज बनाउने उद्देश्यले समर्थन मूल्य कायम गरिएको उपमेयर सङ्ग्रौलाले बताउनुभयो । पालिकाले काउलीको न्यूनतम समर्थन मूल्य प्रतिकिलो २६, बन्दागोवी २४, ब्रोकाउली ३५, खुर्सानी ५४, घिरौँला २६, करेला ३२, भान्टा २६, सिमी ४६, काँक्रा २५, भिन्डी ३६, फर्सी ३१, स्क्वास फर्सी २५, भेँडे खुर्सानी ५१, बोडी ३०, लौका २७ र टमाटरको ३० रुपैयाँ कामय गरेको उहाँले जानकारी दिनुभयो ।
नगरपालिकाले किसानलाई तरकारीखेतीमा प्रोत्साहन गर्नका लागि एक सय १७ किसान समूह नै बनाएको छ । त्यसमध्ये एउटा मूल कृषक समूह छ । समूहमा उत्पादन गरेको तरकारीलाई बिक्री केन्द्रमार्फत बिक्री गरिँदै आएको उपमेयर सङ्ग्रौलाले बताउनुभयो । अहिले बिर्तामोडका ६ वटा वडामा तरकारी बिक्री केन्द्र राखिएको छ ।
उपमेयर सङ्ग्रौलाले बिर्तामोडमा उत्पादित तरकारीलगायत भण्डार गर्नका लागि बिर्तामोड–७ को वडा कार्यालय नजिकै ९० लाख रुपैयाँभन्दा धेरैको लागतमा ७० टन क्षमताको चिस्यान केन्द्र निर्माण गरिएको बताउनुभयो । चिस्यान केन्द्र सञ्चालनमा आएपछि यहाँका किसानलाई ठूलो राहत पुग्ने उहाँको भनाइ छ ।