ताप्लेजुङ :-
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले दलित समुदायको सशक्तिकरणका लागि छुट्टै कोष स्थापना गर्ने तयारी गरेको छ । दलितको हक, अधिकार सुनिश्चित गर्दै संरक्षण र सशक्तिकरणमा सहयोग पुर्याउन गाउँपालिकाले कोष स्थापना गर्नेगरी तयारी गरेको हो ।
दलित समुदायलाई आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक क्षेत्रमा पहुँच बढाउन र उनीहरुलाई समाजको मूल प्रवाहमा ल्याउनेगरी कोषको अवधारणा ल्याएको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिए । अध्यक्ष वनेमका अनुसार कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि नै बनाएर गाउँपालिकाले दलित सशक्तिकरणका लागि कोष स्थापना गर्न लागेको हो ।
चालू आर्थिक वर्षदेखि नै कोष स्थापना कार्यक्रम कार्यान्वयनमा लैजाने गाउँपालिका अध्यक्ष वनेमले बताए । उनका अनुसार चालू आवमा उक्त कार्यक्रमका लागि गाउँपालिकाले १० लाख रुपियाँ रकम विनियोजन गरेको छ ।
गाउँपालिकामा बसोबास गर्दै आएका दलित समुदायका अगुवाहरुको सहभागितामा सो समुदायभित्र रहेको समस्याको पहिचान गरी समाधान र सशक्तिकरणका कार्यक्रम बनाउने गाउँपालिकाको योजना छ ।