लक्ष्मीपुर :- प्रबिन विसी
एन.आइ.सि.एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय तिनघरेले एक दिने वित्तीय साक्षरता तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ । शनिबार सूर्योदय नगरपालिका वडा नम्बर १३ र १४ को संगमस्थल उत्तरे भञ्ज्याङमा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा कोशी प्रदेश अन्तर्गत तिनघरे शाखा कार्यालयका कर्जा असुली अधिकृत भोजराज न्यौपानेले वित्तीय कारोबार सम्बन्धी प्रशिक्षण दिनुभएको थियो। ऋणीहरूले संस्थाबाट लिएको ऋणलाई कहाँ र कसरी खर्च गर्ने भन्ने विषय सम्बन्धी सन्देशमूलक भिडियो देखाई, घरको खर्च र वित्तीयको नियम सम्बन्धि प्रशिक्षण गराइएको थियो।
प्रत्येक वर्षको यसै समयमा संस्थामा आबद्ध रहेका सदस्य तथा सेवा लिन उत्सुक भएका व्यक्तिहरूलाई संस्थाको नियम संस्थाले दिने फाइदा र संस्थाको उद्देश्य बारेमा सचेतनामूलक छलफल गरी एक दिने साक्षरता तथा पुनर्ताजगी कार्यक्रम गर्ने उद्देश्य रहेको शाखाका प्रबन्धक देविन ढकालले जानकारी दिनुभयो।
वित्तीय क्षेत्रअन्तर्गत ऋणीहरुले आफूले तिरिने मासिक साँवा र ब्याजदरलाई वित्तीय संस्थाका कर्मचारीहरु आउनुहुँदा बिना भौचर वा बिना आधार कैले पनि भुक्तानी गर्नु नहुने संस्थाका कर्मचारी अनिश कट्टेलले बताउनुभयो ।
संस्थाका सदस्य भीमप्रसाद पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । उहाँले हालसम्म वित्तीय संस्थाबाट उद्यमशीलताहरूको लागि वित्तीय संस्थाले गरेको लगानी प्रभावकारी भएको बताउनुभयो। उद्यमीहरूलाई लगानी गर्दा समाजमा देखिएका विविध समस्या हल गर्न अझ कडाइका साथ लागि पर्नुपर्ने , संस्थाहरूले कुनै व्यक्ति वा संस्थासँग काम गर्दा नबुझी गरेको लगानीले घर लिलामदेखि व्यक्तिको निधनसम्म पुगिरहेको उहाँले दुखेसो पोख्नु भयो । आउँदा दिनहरूमा वित्तीय संस्थाहरूले राम्रो अनुसन्धान गरी प्रभावकारी लगानी गरी समाजका लागि उत्तरदायित्व बन्न भुमिका खेल्नै समेत विश्वास व्यक्त गर्नुभयो ।
एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडलेको नेपालभरी ७४ वटा जिल्लामा २७८ वटा शाखा रहेको छ । संस्थाले वित्तीय साक्षरता अभियानको मूल पक्षका रुपमा लिएर वित्तीय चेतना, सुरक्षा, समावेशीकरण र वित्तीय सशक्तीकरणलाई ध्यान दिई व्यवसायहरु सञ्चालन गरी आय–आर्जन गर्न प्रेरणा प्रदान गर्दै आएको छ । वित्तीय चेतनालाई सकारात्मक पक्षहरुबारे ज्ञान प्रदान गरी कर्जा, बचत र बीमा सम्बन्धमा कार्यक्रममा जानकारी गराइएको थियो । शाखाका कर्मचारी , ५० जना सदस्य तथा अभिभावकहरुको सहभागितामा कार्यक्रम समापन गरिएको देविन ढकालले जानकारी दिनुभयो ।