गोविन्द पौडेल :- रोङ , इलाम
पर्यटनको उच्च सम्भावना रहेको रोङ गाउँपालिकाका पर्यटकिय स्थलहरूमा प्राकृतिक सजावटको थालनी गरिएको छ। वसन्त ऋतुमा फूल्ने एन्जेलिया जातका फूल रोपण र हुर्कँदै गरेका लालिगुराँसका बिरुवाहरूको गोडमेल गर्दै स्थायी सजावटको अभियान अघि बढाइएको हो।
गाउँपालिकाको कृषि शाखाको समन्वयमा हाँसपोखरी, कुटिडाँडा, रमितेडाँडा, झण्डीडाँडा, मुख्य कार्यालय जाने सडक, किरात पार्क, हर्कटे लगायतका स्थानहरूमा करिब ४० हजार फूलका बिरुवा रोप्ने कार्य आजदेखि औपचारिक रूपमा थालिएको हो।
कार्यक्रमको सुरुआत गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्वो सुवासले झण्डीडाँडाबाट गर्नुभएको हो। उहाँले यस अभियानले रोङमा बाह्रैमास पर्यटक आउने विश्वास लिएको बताउनुभयो । पुष्परोपण कार्यमा स्थानिय टोलवासी, संघसंस्था, टोल विकास समिति लगायतको सक्रिय सहभागिता रहेको थियो ।
कृषि शाखाका प्राविधिक सन्तोष लाप्चाले “यो अभियानले आगामी दुई वर्षभित्रै सकारात्मक परिणाम दिन सक्ने” विश्वास व्यक्त गर्नुभयो।
रोङ–६ का रञ्जित साङपाङ भन्छन्, “फूल, बच्चा र संगीत मन नपर्ने मान्छे हुन्न। डाँडाभरि ढकमक्क फूल फुलेपछि यहाँ घुम्न मानिस आउँछन्, जसले स्थानीयको आम्दानीमा समेत टेवा पुग्छ।”
उहाँका अनुसार रोङमा कहिले सुर्योदय, कहिले खेल, कहिले फूल, कहिले चिसो हावा, कहिले सांस्कृतिक परिकार र कला देखाउँदै–चखाउँदै बाह्रै महिना पर्यटक भित्र्याउने अभियान चलिरहेको छ। त्यसका लागि तीनै तहका सरकारको सहयोग अपेक्षित रहेको पनि उहाँले बताउनुभयो।