डायमण्ड तिम्सिना:- रोङ ,इलाम
मेचि राजमार्गका प्रमुख घुम्तीहरू कोल्बुङ ,कुटिडाँडा , हर्कटे , तिनघरे , गोदक, नेपालटार हुँदै राँके सम्मको क्षेत्र—तरकारी तथा कोसेली व्यवसायका लागि उदाहरणीय गन्तव्य बन्दै गएका छन् । सडकछेउमा दैनिक रूपमा आफ्नै बारीमा उत्पादन भएका वा स्थानीय किसानबाट संकलन गरिएका ताजा तरकारी र फलफूल बेच्ने महिला–पुरुषको संख्या बढ्दै गएको छ।
स्थानीय उत्पादनमा आधारित व्यवसायीहरूले रोजगारीको मुख्य स्रोतका रूपमा यिनै व्यापारलाई अँगालेका छन् । उनीहरूले दैनिक सयौं यात्रु तथा पर्यटकलाई अर्गानिक र ताजा उत्पादन आपूर्ति गर्दै, राम्रो आम्दानी समेत गरिरहेका छन्।
विशेषगरी गर्मी छल्न कन्याम आउने आन्तरिक पर्यटक, पाथीभरा मन्दिर आउने भक्तजन तथा भारतीय पर्यटकहरू प्रमुख ग्राहकका रूपमा देखिन्छन्। कृषिजन्य उपज मात्रै होइन, उनीहरूले घरायसी कोसेली सामग्री समेत बिक्री गर्ने गरेका छन्, जसले स्थानीय संस्कृतिको प्रचार–प्रसारमा पनि सहयोग पुगेको छ।
राजमार्ग आसपास फैलिएको यस व्यवसायले कृषिपर्यटनलाई समेत टेवा दिएको छ। उपभोक्ताहरूले ताजा उत्पादन मात्र नभई, गाउँको जीवनशैली र संस्कृतिसँग पनि नजिक हुन पाएका छन्।
स्थानिय सरकारले यो व्यवसायलाई अझ व्यवस्थित, सुरक्षित र दीगो बनाउन पहल गर्न थालेको छ भने यसले ग्रामीण अर्थतन्त्रमा उल्लेखनीय योगदान दिनुका साथै युवाहरूका लागि रोजगारीको नयाँ ढोका खोल्न समेत थालेको छ।