इलामका १० वटै पालिकामा नेपाली सेनाको सुरक्षा, जिल्लाभर कर्फ्यु आदेश जारी

समाचार

जिल्लामा शान्ति सुरक्षा कायम गर्न र थप क्षति हुन नदिन इलामका १० वटै पालिकामा नेपाली सेना परिचालित भएको छ । मंगलबार राति १० बजे देखि सेनाले सुरक्षा जिम्मा लिएपछि जिल्लाको जनजीवन क्रमशः सामान्य बन्न थालेको हो ।

नेपाली सेनाको कमाण्डमा सशस्त्र प्रहरी र नेपाल प्रहरी समेत परिचालन गरिएको रण सार्दुल गण इलामका प्रमुख प्रलाद घलेले जानकारी दिनुभयो।

यसअघि आन्दोलनरत जेनजी समूह ले मंगलबार इलाम नगरपालिकाको मुख्य प्रशासकीय भवनमा आगजनी गर्दा ठूलो क्षति भएको थियो। सोही क्रममा माई नगरपालिकामा र रोङ गाउँपालिका–२ को कार्यालयमा समेत आगलागी गराइएको छ। अन्य पालिकाका केही वडामा पनि आगजनी भएको जिल्ला प्रशासनले जनाएको छ। रोङ गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोका अनुसार जेनजी समूहको नाममा पटक–पटक आगलागी गर्ने प्रयास गरिएको छ।

उक्त घटनापछि जिल्लाभरका विद्यालय र अधिकांश पालिकामा प्रशासकीय सेवा बन्द भएका छन्।

यस्तै, थप क्षति हुन नदिन  जिल्ला प्रशासन कार्यालय इलामले बुधबार दिउँसो ३ बजेदेखि बिहीबार बिहान ६ बजेसम्म कर्फ्यु आदेश  जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले कुनै पनि प्रदर्शन वा अप्रिय घटना हुन नदिन कर्फ्यु लागू गरिएको जानकारी दिनुभयो।

Share this: