माता पाथिभरा साना पर्यटन व्यवसायी समूहको चौथो वार्षिक साधारणसभा सम्पन्न ; सभाद्धारा नयाँ नेतृत्व चयन

समाचार

डायमण्ड तिम्सिना : रोङ–३

माता पाथिभरा साना पर्यटन व्यवसायी समूहको चौथो वार्षिक साधारणसभा तथा नयाँ कार्यसमिति गठन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता तत्कालीन अध्यक्ष राम भुजेलले गर्नुभयो भने प्रमुख अतिथि रोङ गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो (सुवास) रहनुभएको थियो । कार्यक्रममा विशेष अतिथि उपाध्यक्ष बिश्णुमाया खवास, वडा नं। ३ का अध्यक्ष मात्रिका बराल, कुटिडाँडा टोल विकास समितिका अध्यक्ष मिलन कुमार भुजेल, वडा सदस्य लिला राउत, पत्रकार, बुद्धिजीवी तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रमुख अतिथि स्याङ्बोले आफ्नो सम्बोधनमा “पुरानो पाथिभरा मन्दिर समितिसम्बन्धी मुद्दा छिट्टै टुंगोमा पुग्नेछ” भन्दै पर्यटनसँग सम्बन्धित संरचनाको संरक्षण र विकासमा गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले जेन्जी आन्दोलनपछि पहिलो पटक औपचारिक कार्यक्रममा सम्बोधन गर्दै सानातिना घटना बाहेक ठूला घटना हुन नदिएकोमा सुरक्षाकर्मी र स्थानीयवासीलाई धन्यवाद ज्ञापन गर्नुभयो।

साधारणसभामा प्रस्तुत आर्थिक प्रतिवेदनअनुसार, गत वर्ष ५ लाख २९ हजार रुपैयाँभन्दा बढी आम्दानी भए पनि यस वर्ष करिब ४ लाख ७७ हजार रुपैयाँ मात्र आम्दानी भएको छ। खर्च भने गत वर्षको तुलनामा बढी भएको उल्लेख छ।

यसै अवसरमा समूहको नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको छ। जसअनुसार अध्यक्षमा पुष्पलाल राई, उपाध्यक्षमा दिनेश निरौला, सचिवमा लिला भुजेल, सहसचिवमा राज सुब्बा, कोषाध्यक्षमा किरण राउत निर्वाचित हुनुभएको छ। यस्तै, सदस्यहरूमा मेघराज बाँस्कोटा, गगन राई, कल्पना भुजेल, निर्मला भुजेल, उषा भुजेल, रिमा भुजेल, बब्लु राउत र बिन्दी भुजेल चयन भएका हुनुभएको छ ।

चौथो वार्षिक साधारणसभाले नयाँ जोश र उत्साहसहित समूहलाई आगामी दिनमा पर्यटन व्यवसाय प्रवर्द्धन र स्थानीय विकासमा अझ सक्रिय हुने विश्वास दिलाएको छ।

Share this: