अर्को वर्ष भारत र श्रीलङ्कामा हुने आईसीसी टी–२० विश्वकपका सबै टोली तय भएका छन्। ओमानमा जारी एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटमा यूएईले जापानलाई पराजित गरेसँगै समिकरण पूरा भएको हो।
एशियाबाट नेपाल, ओमान र यूएई छनोट भएका छन्। आयोजक भारत र श्रीलङ्कासहित अफगानिस्तान, अस्ट्रेलिया, बङ्गलादेश, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इन्डिजले स्वतः प्रवेश पाएका छन्।
वरीयताको आधारमा न्यूजील्यान्ड, पाकिस्तान र आयरल्यान्डले स्थान बनाएका छन् भने क्यानडा, इटाली, नेदरल्यान्ड्स, नामिबिया र जिम्बाब्वे पनि छनोट भएका छन्।
२० टोली सहभागी विश्वकपमा चार समूह रहनेछन् र प्रत्येक समूहको शीर्ष दुई टोली सुपर–८ मा पुग्नेछन्।
नेपाल आज सामोआसँग सुपर–सिक्सको अन्तिम खेल खेल्दैछ। यसअघि चार खेलमा आठ अङ्कसहित शीर्ष स्थानमा रहेको नेपालले उपाधि जित्ने अवसर पाएको छ। नेपाल सन् २०१४ र २०२४ पछि तेस्रो पटक विश्वकप खेल्दैछ।