कवि प्रतिभा पौडेलको सातौँ कृति तथा महाकाव्य तितिक्षा इलामस्थित अरनिको सांस्कृतिक संग्रहालय, पुरानो दरबारमा शुक्रबार एक कार्यक्रमबीच लोकार्पण गरिएको छ।
इलाम नगरपालिकाका प्रमुख केदार थापाको प्रमुख आतिथ्य तथा इलाम नगर साहित्य, कला तथा संगीत प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङको अध्यक्षतामा आयोजित कार्यक्रममा महाकाव्य ‘तितिक्षा’ सार्वजनिक गरिएको हो। कार्यक्रममा साहित्यकार, लेखक, कवि तथा साहित्यप्रेमीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
लोकार्पण कार्यक्रममा साहित्यकार इन्द्रनारायण सुवेदी, सोम निरौला, टीका घिमिरे तथा युवा साहित्यकार एवं कवि अन्वेष थुलुङले ‘तितिक्षा’ महाकाव्यमाथि टिप्पणी तथा समीक्षात्मक धारणा राख्नुभएको थियो। उहाँहरूले महाकाव्यमा समेटिएका विषयवस्तु, सामाजिक सरोकार, साहित्यिक पक्ष तथा कृतिको समग्र विशेषताबारे चर्चा गर्नुभएको थियो।
कवि पौडेलको साहित्यिक यात्रामा ‘तितिक्षा’ सातौँ कृतिका रूपमा आएको हो। महाकाव्यले नेपाली साहित्यमा समकालीन विषयवस्तु र सामाजिक यथार्थलाई साहित्यिक ढंगले प्रस्तुत गर्ने प्रयास गरेको समीक्षकहरूले बताएका छन्।
इलाम नेपाली साहित्यको पुरानो तथा समृद्ध केन्द्रका रूपमा समेत परिचित छ। इलामसँग जोडिएका विभिन्न कालखण्डका अग्रज तथा समकालीन साहित्यकारहरूले नेपाली साहित्यमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन्। साहित्यकार डा। देवी क्षेत्री दुलाल को ‘इलामको साहित्यिक इतिहास’ कृतिमा इलामलाई जन्मथलो वा कर्मथलो बनाएका २५५ साहित्यकारलाई समेटिएको उल्लेख छ।
इलामको यही समृद्ध साहित्यिक परम्परालाई निरन्तरता दिँदै नयाँ पुस्ताका स्रष्टाहरू पनि सिर्जनामा सक्रिय भइरहेका बेला कवि प्रतिभा पौडेलको ‘तितिक्षा’ महाकाव्यको प्रकाशनलाई इलामको साहित्यिक गतिविधिमा महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।
