चेन्नईमा अलपत्र चार नेपाली युवाको उद्धार, सुरक्षित रूपमा स्वदेश फर्काइयो

समाचार

भारतको तमिलनाडुस्थित चेन्नईमा अलपत्र परेका चार नेपाली युवालाई इन्डो–नेपाल कोर कमिटी पशुपतिनगरको पहलमा उद्धार गरी सुरक्षित रूपमा स्वदेश फर्काइएको छ।

सूर्योदय नगरपालिका–२ का इन्डो–नेपाल कोर कमिटीका सदस्य तथा समाजसेवी शोइजन शेर्पाको पहलमा पोखराका चार युवालाई उद्धार गरी नेपाल फर्काइएको हो। उद्धार गरिएका युवामा २० बर्षीय नवीन , २१ बर्षीय रोशन , २२ बर्षीय सन्तोष र २४ बर्षीय करण रहेका छन्।

रोजगारी तथा जीविकोपार्जनका लागि चेन्नई पुगेका उनीहरू चेन्नई रेलवे स्टेसनमा पैसा र खानासमेत नभएको अवस्थामा अलपत्र परेका थिए। उनीहरूको अवस्थाबारे जानकारी पाएपछि कोर कमिटीका सदस्य शेर्पाले दार्जिलिङस्थित सामाजिक संस्था अनुज्ञालय डीडीएसएसएस सँग सम्पर्क गरेका थिए।

अनुज्ञालय डीडीएसएसएसको पहलमा तमिलनाडुस्थित इन्टरनेसनल जस्टिस मिसनसँग समन्वय गरी उद्धार टोली परिचालन गरिएको थियो। उद्धारपछि चारै युवालाई दुई दिनसम्म तमिलनाडु सरकारको आश्रयस्थलमा राखेर खाना तथा आवश्यक हेरचाहको व्यवस्था गरिएको थियो।

त्यसपछि उनीहरूलाई चेन्नईबाट गोरखपुर जाने रेलमार्फत नेपाल फर्काइएको र चारै जना सुरक्षित रूपमा नेपाल आइपुगेको इन्डो–नेपाल कोर कमिटीले जनाएको छ।

युवाहरूको उद्धार तथा स्वदेश फिर्तीमा सहयोग गरेको भन्दै कोर कमिटीले इन्टरनेसनल जस्टिस मिसन तमिलनाडुका कर्मचारी रूपन कन्ना, अनुज्ञालय डीडीएसएसएसका सुदीप बोम्जन तथा तमिलनाडु रेलवे प्रहरीप्रति आभार व्यक्त गरेको छ।

इन्डो–नेपाल कोर कमिटीले विगत चार वर्षदेखि पशुपतिनगर क्षेत्रमा मानव बेचबिखनविरुद्धको अभियान, स्वदेश फिर्ती तथा पुनर्स्थापनाका क्षेत्रमा काम गर्दै आएको छ। कमिटीले माइती नेपाल, एटीसीएन नेपाल, अनुज्ञालय डीडीएसएसएस, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, भारतीय प्रहरी, एसएसबी तथा विभिन्न नेपाली–भारतीय मानवीय संस्थासँग सहकार्य गर्दै आएको जनाएको छ।

Share this: