यातायात व्यवस्था विभागले अन्तरप्रदेश सञ्चालन हुने विद्युतीय सवारीसाधनको भाडा नबढेको स्पष्ट पारेको छ। विभागले सूचना जारी गर्दै हालै गरिएको भाडा समायोजन डिजेल इन्जिन प्रयोग गर्ने सवारीसाधनमा मात्र लागू भएको जनाएको हो।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि विभागले गएको चैत २५ गते स्वचालित भाडा समायोजन प्रणालीअनुसार अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा बढाएको थियो। तर, सो समायोजन विद्युतीय सवारीसाधनमा लागू नहुने विभागको भनाइ छ।
यसबीच केही विद्युतीय गाडीहरूले समेत बढेको भाडा असुल गरिरहेको तथा यात्रुलाई अनिवार्य रूपमा दिनुपर्ने टिकट नदिएको गुनासो आएको विभागले जनाएको छ। विभागका अनुसार विद्युतीय सवारीसाधनमा पुरानै भाडादर कायम रहेकाले बढी भाडा लिएमा प्रचलित कानुनअनुसार कारबाही गरिनेछ।
विद्युतीय गाडीहरूले डिजेल प्रयोग नगर्ने भएकाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको आधारमा उनीहरूको भाडा नबढ्ने व्यवस्था रहेको विभागले स्पष्ट पारेको छ। साथै, विभागले यात्रुहरूलाई तोकिएको भन्दा बढी भाडा नतिर्न र यात्रा गर्दा अनिवार्य रूपमा टिकट माग्न आग्रह गरेको छ।
