इलामबासीलाई “ओरेन्ज एण्ड ग्रीन इकोनोमी” अवधारणामा साझेदारी गर्न सांसद राईको अनुरोध

समाचार साहित्य

फिक्कल :- विक्रम सुन्दास 

पाँचौ इलाम साहित्य महोत्सव २०८३ को समापन सत्रमा प्रस्तुतिकरण गर्दै प्रतिनिधि सभा सदस्य निस्कल राईले इलामको दीर्घकालीन विकासका लागि “ओरेन्ज एण्ड ग्रीन इकोनोमी” अवधारणालाई अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ।

समापन सत्रमा आफ्नो प्रस्तुतिकरण राख्दै सांसद राईले इलामलाई केवल प्राकृतिक सौन्दर्यका आधारमा मात्रै नभई यहाँका अनुभव, संस्कृति, उत्पादन र पहिचानसँग जोडेर विश्व बजारमा प्रस्तुत गर्न इलामवासीलाई आग्रह गर्नुभयो। उहाँले इलामको विकास सरकारको एकल नीतिले मात्र सम्भव नहुने भन्दै स्थानीय समुदाय, निजी क्षेत्र र सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।

उहाँका अनुसार इलामको पर्यटन अहिले प्राकृतिक सौन्दर्यमा केन्द्रित रहे पनि त्यसले मात्र दीर्घकालीन अर्थतन्त्र निर्माण गर्न नसक्ने भएकाले अब “ओरेन्ज एण्ड ग्रीन इकोनोमी” अवधारणातर्फ अघि बढ्न आवश्यक छ।

सांसद राईले “ओरेन्ज इकोनोमी” अन्तर्गत इलाममा उत्पादन हुने बस्त तथा बाली चिया , छुर्पी, अलैँची , अम्लिसो , अकबरे, आलु, सुपारी आदिसँग जोडिएका अनुभव, भावना, मौसम, हावापानी तथा उत्पादन गर्ने किसानका कथा र संघर्षलाई समेत बजारसँग जोड्नुपर्ने धारणा राख्नुभयो। साथै इलामको इतिहास, संस्कार, परम्परागत सभ्यता, संस्कृति, पहिरन र स्थानीय पहिचानलाई आधुनिक व्यावसायिकतासँग जोड्नुपर्ने उहाँको भनाइ थियो।       

त्यस्तै “ग्रीन इकोनोमी” अन्तर्गत प्राकृतिक, धार्मिक तथा मनोरञ्जनात्मक क्षेत्रहरूको दिगो विकासमार्फत आर्थिक गतिविधि विस्तार गर्न सकिने उहाँले बताउनुभयो। यस अवधारणालाई सफल बनाउन चुनौती भए पनि स्थानीय समुदायको सहकार्य, आवश्यक तालिम र सहज कार्यान्वयनका माध्यमबाट सम्भव रहेको उहाँको भनाइ थियो।

उहाँले इलाम अब यही अवधारणाअनुसार अघि बढेमा मात्र दिर्घकालिन विकासको सही गन्तव्यतर्फ उन्मुख हुने विश्वास व्यक्त गर्नुभयो।

Share this: