इलामको साहित्यिक विरासतमा बर्सैपिच्छे चमक थपिन्दै

साहित्य

इलामका इतिहाँस विद ज्यूद्ध वैद्यले इलामलाई “नकुँदिएको हिरा” को संज्ञा दिनुभएको छ । उहाँका अनुसार प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र साहित्यिक चेतनाले समृद्ध इलाम अझै पनि आफ्नो पूर्ण सम्भावना अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर हुन सकेको छैन। त्यसैले साहित्य, कला, संस्कृति र पर्यटनलाई एकसाथ जोड्ने अभियानहरू इलामको पहिचान विस्तारका लागि आवश्यक रहेको छ।

पूर्वी नेपालको सांस्कृतिक, शैक्षिक तथा बौद्धिक केन्द्रका रूपमा परिचित इलाम जिल्ला नेपाली भाषा तथा साहित्यको उर्वर भूमिका रूपमा चिनिँदै आएको छ। कविता, लोकसाहित्य, गीत, निबन्ध, पत्रकारिता तथा सांस्कृतिक विमर्शको क्षेत्रमा इलामले लामो समयदेखि महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको साहित्यप्रेमीको भनाइ छ ।

जानकारहरूका अनुसार इलाममा साहित्यिक गतिविधि विशेषगरी वि।सं। २००० दशकपछि तीव्र रूपमा विकास हुन थालेको मानिन्छ। २००९ सालमा कर्फोकमा आयोजित साहित्य सम्मेलनपछि यहाँको साहित्यिक चेतनाले थप गति लिएको उल्लेख गरिन्छ। जिल्लाको पहिलो पत्रिका “मेची” तथा राणाकालमा वि।सं। १९९० सालमा स्थापना भएको इलाम दरबार हाईस्कुलले यहाँको बौद्धिक तथा साहित्यिक वातावरण निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए।

इलामका प्रारम्भिक साहित्यिक योगदानकर्तामध्ये रहरसिंह बाङ्देलको नाम विशेष रूपमा लिइन्छ। त्यस्तै गीत–संगीत क्षेत्रमा जेबी टुहुरेले पुर्‍याएको योगदानलाई इलामेली सांगीतिक इतिहासमा महत्वपूर्ण मानिन्छ। विद्यालयहरूको विस्तार, पुस्तकालय स्थापना, साहित्यिक गोष्ठी तथा पत्रपत्रिकाको प्रकाशनसँगै इलाममा साहित्यिक चेतना क्रमशः विस्तार हुँदै गएको पाइन्छ।

यस ऐतिहासिक विरासतलाई पछिल्लो पुस्तासम्म जोड्ने क्रममा प्रकाश थाम्सुहाङ, हाँङयुग अज्ञात, विमल वैद्य, बसन्त बस्नेत, प्रतिभा पौडेल, महेन्द्र विरही, सुरेश पोर्तेल तथा अन्वेष थुलुङ लगायतका स्रष्टाहरूले इलामको साहित्यिक उचाइलाई अझ विस्तार गर्नुभएको छ ।

इलामेली माटोले सिर्जनशीलतालाई मात्र उर्वर बनाएको छैन, यसले विविध सांस्कृतिक रंगहरूलाई समेत समेट्दै आएको छ। माई सभ्यतासँग हुर्किएको साहित्यिक चेतनाले देशभित्र मात्र नभई परदेशका मरुभूमिसम्म आफ्नो प्रभाव फैलाएको छ। चियाका चुस्कीसँगै हुने साहित्यिक तथा राजनीतिक विमर्श, सगरमाथाकै उचाइमा पुगेको इलामेली पहिचान तथा किराँत–लेप्चा संस्कृतिको मैत्री सम्बन्धले इलामको साहित्यलाई छिमेकी देश भारत, भुटान र तेस्रो गन्तव्य युरोप अमेरीकासम्म परिचित गराएको साहित्यकारहरुले बताउने गरेका छन।

यसै ऐतिहासिक विरासतलाई निरन्तरता दिने उद्देश्यसहित यही वैशाख १८ र १९ गते इलाममा दुईदिने साहित्यिक महोत्सव आयोजना भएको छ। नगर साहित्य कला संगीत प्रतिष्ठान इलाम, हाङ युग जुनाता फाउण्डेसन इलाम र इलाम साहित्य समाज को संयुक्त आयोजनामा हुने कार्यक्रममा नयाँ पुस्ताका स्रष्टाहरूको सहभागिता रहने तथा नयाँ प्रतिभाहरूलाई उजागर गर्ने तयारी गरिएको आयोजकले जनाएको छ।

 

महोत्सवको पहिलो दिन वैशाख १८ गते बिहान १० बजे भानु सालिक, ठूलो टुँडिखेलबाट सभा हलसम्म प्रभातफेरीसहित कार्यक्रम सुरु हुनेछ। त्यसपछि उद्घाटन सत्र, सम्मान तथा पुरस्कार वितरण र सांस्कृतिक नृत्य प्रस्तुति गरिनेछ। कार्यक्रममा सगरमाथा आरोही जुनिता सुब्बा को कविता संग्रह “प्रिय आत्मन” विमोचन गरिनेछ भने अर्जुनबाबु माबुहाङ ले “मुन्धुम र पर्यावरण संकट” विषयमा मुख्य सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

त्यसैगरी “कविता स् विरासतदेखि रिल्ससम्म”, “पर्यटनको वैभव स् समृद्धिको आधार” र “जराको कुरा स् हाम्रो इतिहास” विषयमा छलफल गरिने आयोजकले जनाएको छ। दिउँसो “आख्यान–उपाख्यान” सत्रपछि गजल साँझ आयोजना गरिनेछ भने साँझ पुष्पन प्रधान को सांगीतिक प्रस्तुति रहनेछ।

दोस्रो दिन वैशाख १९ गते शिक्षा, सीमावर्ती साहित्य, पत्रकारिता र कथा विधामा केन्द्रित सत्रहरू सञ्चालन हुनेछन्। दिनभर सांस्कृतिक नृत्य प्रस्तुत गरिनेछ भने अन्त्यमा बृहत् कविता कन्सर्ट आयोजना गरिने कार्यक्रम रहेको छ। महोत्सवको समापन वैशाख १९ गते साँझ गरिने आयोजकले जनाएको छ। यो समापन संगै यलामको पर्यटन र साहित्य सिजर्नाको श्रीङगारमा एकपटक पुन पालिस लाग्ने छ ।

Share this: