इलामको माईजोग्माई गाउँपालिका–२, खोल्मेमा सोमबार स्थानीय खोल्सामा आएको बाढीले बगाउँदा ८ वर्षीय आहान खत्रीको मृत्यु भएपछि उनकी आमा ३८ वर्षीया अमृता लेप्चा खत्रीले पनि ज्यान गुमाएकी छन्।
विद्यालयबाट घर फर्कने क्रममा स्थानीय खोल्सामा आएको आकस्मिक बाढीले बगाउँदा आहानको मृत्यु भएको थियो। छोराको मृत्युको खबर सुनेपछि घरबाट बेपत्ता भएकी अमृताको शव मंगलबार बिहान घर नजिकै फेला परेको स्थानीय प्रहरी स्रोतले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यता, इलामसहित पूर्वी पहाडी जिल्लाहरूमा पछिल्लो २४ घण्टादेखि निरन्तर वर्षा भइरहेको छ भने मंगलबार रातिदेखि मुसलधारे वर्षा जारी रहेको छ। लगातारको वर्षाका कारण जनजीवन प्रभावित बनेको छ।
वर्षाका कारण इलाम–पाँचथर–ताप्लेजुङ जोड्ने मेची राजमार्गअन्तर्गत राजदुवाली सडक खण्ड करिब एक महिनादेखि अवरुद्ध छ। वैकल्पिक रूपमा प्रयोग हुँदै आएको सिमलगोलाई सडक खण्ड पनि वर्षापछि अवरुद्ध बनेसँगै इलाम र पाँचथरबीचको यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ।
त्यसैगरी, मेची करिडोर फास्ट ट्र्याकअन्तर्गत सोयाक सडक खण्डमा स्थानीयवासीले सडकमै धान रोपेर सडक सञ्चालन हुन नसकेको संकेत दिएका छन्। सडक मर्मत र सञ्चालनमा ढिलाइ भएको भन्दै स्थानीयले यसरी विरोध जनाएका छन।
सडक सञ्जाल अवरुद्ध भएपछि इलामका ग्रामीण क्षेत्रमा आकस्मिक बिरामी, प्राकृतिक विपद् वा अन्य दुर्घटना हुँदा उद्धार तथा राहत कार्य सञ्चालन गर्नसमेत कठिन अवस्था सिर्जना हुने देखिएको छ।
