इलामको माइजोगमाई गाउँपालिका- २, जोगमाईमा स्कुलबाट घर फर्किरहेका एक बालकको खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको छ।
मृत्यु हुनेमा जोगमाई भ्याली बोर्डिङ स्कुलमा कक्षा ६ मा अध्ययनरत १२ वर्षीय आहान खत्री रहेका छन्। उनी विद्यालयको बिदापछि घर फर्किने क्रममा स्थानीय शनिश्चरे क्षेत्रस्थित बजुर खोल्सोमा आएको आकस्मिक बाढीमा परेका थिए।
माइजोगमाई गाउँपालिका- २ का वडाध्यक्ष डम्बर सुवेदीका अनुसार सामान्य अवस्थामा पैदल पानी तरेर आवतजावत गर्ने उक्त खोल्सोमा सोम्बार परेको अविरल वर्षापछि एक्कासी ठूलो बाढी आएको थियो। बाढीले बगाएका आहानलाई धेरै तल जोगमाई खोलासँग मिसिने स्थान नजिक अड्किएको अवस्थामा स्थानीयले फेला पारेका थिए।
घटनापछि स्थानीयवासी घटनास्थलमा पुगेका थिए भने बालकको अवस्था जीवित नरहेको आशंका गर्दै प्रहरीलाई खबर गरिएको थियो। जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।
आहान दाङ घर भएका बालक हुन्। उनी हाल आफ्नी आमासँग माइजोगमाई-२ को खोल्मेस्थित मावलीघरमा बस्दै आएका थिए। उनका बुबा वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा रहेको बताइएको छ।
यस घटनाले माइजोगमाई क्षेत्रमा शोकको वातावरण सिर्जना भएको छ। स्थानीय तहले वर्षायाममा खोल्सा तथा साना खोलामा एक्कासी आउने बाढीप्रति विशेष सतर्कता अपनाउन अभिभावक र सर्वसाधारणलाई आग्रह गरेको छ।
