बिक्रम सुन्दास :- फिक्कल ,इलाम
सामाजिक सञ्जालमा बढ्दो भाइरल प्रवृत्तिका बीच कला र सिर्जनशीलतालाई प्राथमिकता दिँदै स्थानीय प्रतिभालाई अवसर दिने उद्देश्यसहित फिक्कलमा एकै दिन दुई वटा म्युजिक भिडियो सार्वजनिक गरिएको छ।
एचकेआर (HKR) प्रोडक्सन हाउसले शनिबार फिक्कलस्थित एकम होटलमा आयोजित कार्यक्रममा दुई नयाँ कलाकारलाई म्युजिक भिडियोमार्फत डेब्यु गराउँदै दुई गीतका भिडियो एकसाथ विमोचन गरेको हो।
सूर्योदय नगरपालिका ९ का वडा अध्यक्ष देवेन्द्र शर्माको प्रमुख आतिथ्य तथा वडा नं. २ का अध्यक्ष डिक बम्जनको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा कलाकार मुकेश गुरुङ (फिक्कल बोई ) र अंकिता अधिकारी अभिनित ‘तिर्खाले खोली धाएको’८८ तथा मुकेश गुरुङ र सिकुम्मा लिम्बु अभिनित ‘यो आँखामा’८ बोलका म्युजिक भिडियो सार्वजनिक गरिएका हुन्।
कार्यक्रमको केन्द्रमा कलाकार मुकेश गुरुङ र निर्देशक हिकस राईको सहकार्य रहेको थियो। उहाँहरूले पछिल्लो समय सूर्योदय नगरपालिकाको प्राकृतिक सौन्दर्यलाई म्युजिक भिडियोमार्फत प्रवर्द्धन गर्दै स्थानीय कलाकारलाई अवसर सिर्जना गर्ने अभियानलाई निरन्तरता दिनुभएको छ। कला केवल मनोरञ्जनको माध्यम नभई नयाँ पुस्ताको प्रतिभा उजागर गर्ने साझा मञ्च बन्न सक्ने विश्वासका साथ उहाँहरू सक्रिय रहनुभएको छ।

प्रमुख अतिथि देवेन्द्र शर्माले अभिनय कला आफूलाई पनि रुचिको विषय भए पनि पछिल्लो समय सामाजिक सञ्जालमा देखिएको भाइरल प्रवृत्तिप्रति सचेत रहनुपर्ने आवश्यकता रहेको बताउनुभयो। कलाकारले समाजमा सकारात्मक सन्देश दिने र स्तरिय सिर्जनालाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो।
विशेष अतिथि डिक बम्जनले स्थानीय सरकारले कलाकार प्रोत्साहनका लागि ध्यान केन्द्रित गरिरहेको उल्लेख गर्दै कलाकारलाई केवल मनोरञ्जनकर्मीका रूपमा होइन, राष्ट्रको सांस्कृतिक गहनाका रूपमा हेर्नुपर्ने धारणा राख्नुभयो। कलाकारहरूले निरन्तर सिर्जनशील यात्रालाई अघि बढाउनुपर्ने उहाँले जोड दिनुभयो।
‘तिर्खाले खोली धाएको’ गीतमा दीपी खनालको शब्द, शंकर थापा ‘स्माइल’को संगीत रहेको छ भने सन्तोष राई र सोनिया गम्बोको स्वर रहेको छ। त्यसैगरी यो आँखामा’ गीतको शब्द, संगीत तथा स्वर पवित्रा गुरुङको रहेको छ।
विमोचन समारोहमा पूर्व सूर्योदय नगर बाल सञ्जाल अध्यक्ष तथा बालअधिकारकर्मी निरज चाम्लिङ राईसहित विभिन्न क्षेत्रमा सहयोग पुर्याउने कलाकार तथा व्यक्तित्वलाई सम्मानपत्र प्रदान गरिएको थियो। मेकअप आर्टिस्ट सिन्जुलगायत अतिथिलाई मायाको चिनो पनि प्रदान गरिएको थियो। कार्यक्रममा वितरण गरिएको मायाको चिनो श्रीनिधि हस्पिटल फिक्कलको सौजन्यमा उपलब्ध गराइएको आयोजकले जनाएको छ।
आयोजक परिवारले यस्ता कार्यक्रमले स्थानीय कलाकारको क्षमता अभिवृद्धि गर्नुका साथै सूर्योदय क्षेत्रको प्राकृतिक सौन्दर्यलाई राष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको बताएको छ।
